दोलखा। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा सोमबार आयोजित भेटघाट कार्यक्रममा उनले राज्य संयन्त्रलाई सरकारले हस्ताक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताए।
मन्त्री खरेलले सुशासनका लागि खर्च कटौती गर्ने नीतिसहित काम गरिरहेको बताए। प्रधानमन्त्री सुशीला कार्कीले कम खर्च र मितव्यता अपनाउँदै काम गर्ने र जेन-जीका माग पूरा गर्न स्पष्ट निर्देशन दिएको उनले बताए।
मन्त्री खरेलले देशको राजधानी, भारत र चीनबाट समेत नजिक भएर पनि दोलखाको विकास नभएको भन्दै यसमा राजनीतिक खिचातानी मुख्य कारण रहेको धारणा राखे। अब पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जिल्ला मात्रै होइन देश विकासमा लाग्नुपर्ने उनको भनाइ थियो।
“दोलखा जलविद्युत्, हिमाल, धार्मिकस्थल, जल, जङ्गल, जडीबुटीले भरिपूर्ण हुँदाहुँदै बाह्य पर्यटकको थलो किन बन्न सकेन ? उत्तर खोज्दा सबैले मम भन्नुपर्ने बेला आएको छ। यति हुँदाहुँदै पर्यटकीय हिसाबले किन पछाडि भयौँ ? यो कुरालाई राजनीतिभन्दा माथि उठेर सोच्ने र दोलखालाई शिरमाथि राखेर काम गर्न आवश्यक छ‚” मन्त्री खरेलले भने।