काठमाडौँ। नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
दर्ज्यानी चिह्नद्वारा पाउनेमा एआईजी ईश्वर कार्की तथा डीआईजी विश्व अधिकारी र प्राविधिक डीआईजी इन्जिनियर रामकुमार चौधरी छन् । त्यस अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ज्येष्ठता, कार्यकुशलता, विधि एवं पद्धतिका साथै व्यावसायिक निष्ठाका साथ निर्वाह गरेको जिम्मेवारीको मूल्याङ्कनका आधारमा पदोन्नति भएको बताए।

ईश्वर कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिँदै आईजीपी दानबहादुर कार्की। तस्बिरहरु : नेपाल प्रहरी
उनले पदोन्नति भएका प्रहरी अधिकृतको नेतृत्वदायी भूमिका र नेतृत्व क्षमताबाट प्रहरी सेवामा प्रभावकारी योगदान पुग्ने विश्वास व्यक्त गरे। प्रहरी महानिरीक्षक कार्कीले मुलुक संवेदनशील अवस्थामा रहेकाले यस्तो अवस्थामा प्रहरी जनताको सेवामा समर्पित हुन आवश्यक रहेको उल्लेख गरे । निःस्वार्थ सेवाभाव, शिष्ट व्यवहार, उत्कृष्ट आचरणलाई आत्मसात् गरी नागरिकको अपेक्षाअनुरूप प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । उनले प्रहरीप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्न व्यावसायिक कार्यसम्पादनमा जोड दिई सेवा प्रवाहलाई थप चुस्त बनाउनसमेत निर्देशन दिए।
कार्यक्रममा बढुवा भएका प्रहरी अधिकृतलाई उनले बधाई तथा सफल कार्यकालको शुभकामना दिए। कार्यक्रममा बढुवा भएका एआईजी ईश्वर कार्कीले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिक निष्ठा र इमानदारीपूर्वक कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए।

विश्व अधिकारीलाई दर्ज्यानी चिह्न लगाइदिँदै आईजीपी दानबहादुर कार्की।

रामकुमार चौधरीलाई दर्ज्यानी चिह्न लगाइदिँदै आईजीपी दानबहादुर कार्की। तस्बिरहरु : नेपाल प्रहरी