काठमाडौँ
००:००:००
१० पुष २०८२, बिहीबार

११ मंसिर २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोग। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। धनुषाको कमल नगरपालिकाको लग्मा बजारस्थित पोखरीको माटो पुर्ने र घाट निर्माण कार्यमा भ्रष्टाचार भएको गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुख रामउदगार गोइतसहितका व्यक्तिविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएकामा कार्यपालिका सदस्यहरू धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन रहेका छन्।

यस्तै तत्कालीन निमित्त प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जीवकुमार महतो र जिन्सी शाखा प्रमुख जुगलकिशोर यादवविरुद्ध पनि मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

अख्तियारले इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्स प्रालि जनकपुर र उक्त कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको पौडेलले बताए। उनीहरूसँग २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो र सजाय माग दाबी लिइएको छ।

आर्थिक वर्ष ०७६/७७ मा सालमा पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणसहित सौन्दर्यीकरण गर्ने भनी कमला नगरपालिकाले ७५ लाख रुपैयाँ बजेट छुट्याएको थियो।

बोलपत्रमा घटी अंक कबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता नगरी बढी कबोल गर्ने कम्पनीसँग गरेर राज्यलाई नोक्सान पारी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सेट स्क्वायर कन्स्ट्रक्सन प्रालि राजविराजले ४२ लाख ७४ हजार ५५१ रुपैयाँ कबोल गरेकामा ७२ लाख २१ हजार ७३० रुपैयाँ कबोल गरेको इन्फ्रास्ट्रक्चरलाई मिलेमतोमा ठेक्का दिइएको अख्तियारको दाबी छ।

सार्वजनिक खरिद ऐन २०६३ अनुसार सरकारी काममा कम कबोल गर्ने कम्पनीलाई ठेक्का दिनुपर्ने व्यवस्था छ।