म्याग्दी। अन्नपूर्ण गाउँपालिका ५‚ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएका एक विदेशी पर्यटकको शव फेला परेको छ। यही ९ मंसिरमा बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज (सोमबार) दिउँसो फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अन्नपूर्ण गाउँपालिका ५ स्थित बङ्करको भिरभन्दा करिब १६० मिटर तल निगालोको झाडीभित्र उहाँको शव भेटिएको हो। पर्यटक बेपत्ता भएपछि खोजीमा जुटेका पथप्रदर्शक र स्थानीयले सोमबार शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार शव परीक्षणका लागि काठमाडौँ पठाइने र आवश्यक अनुसन्धान पनि सुरु गरिएको छ। ती पर्यटक म्याग्दीको खोप्रोमा एक रात बास बसेर दोबाटोतिर एक्लै जाँदै गर्दा बेपत्ता भएकी थिइन्। प्रहरीले भिरबाट खसेको हुनसक्ने अनुमान गरेको छ।