काठमाडौँ। नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
काठमाडौँ जिल्ला चन्द्रागिरि नगरपालिका ८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत उदयपुर घर भई काठमाडौँ बस्दै आएका ४७ वर्षीय चेतन एसएम (पौडेल) लाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनले नेपाल मेडिकल काउन्सिलमा दर्ता (एनएमसी नम्बर) नभई चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको उपचार गर्ने, औषधि सिफारिससहित प्रेस्क्रिप्सन जारी गर्नेलगायत काम गर्दै आएको प्रहरी वरिष्ठ उपरीक्षक अनुपशमशेर जबराले जानकारी दिए।
उनका अनुसार मेडिकल काउन्सिलबाट प्राप्त उजुरी तथा अनुगमन प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरि ८ बाट नियन्त्रणमा लिएको हो।
जबराका अनुसार पक्राउ परेका पौडेलमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।