बिर्तामोड। झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन्। आज भएको उद्घाटन खेलमा एपीएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो।
एपीएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो। एपीएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो। खेलको प्लेयर अफ द म्याच एपीएफकी नेबिका चौधरी भइन्।
त्यस्तै आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोसी प्रदेश भलिबल टिमलाई ३-० को सोझो सेटमा हराएको हो। न्यु डायमन्डले १४-५, ८-२५ र ९-२५ को सेटमा पराजित गरेको हो।
खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन्। उनलाई प्रमुख अतिथि पूर्वकानुनमन्त्री अग्नि खरेल, अर्जुनधारा ६ का वडा अध्यक्ष हरिशचन्द्र बास्तोला, आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, सह-आयोजकका अध्यक्ष वीरबहादुर राईलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ। समूह ‘ए’ मा एपीएफ, एभरेस्ट र त्रिभुवन आर्मी छन्। त्यस्तै, समूह ‘बी’ मा न्यु डायमन्ड, कोसी प्रदेश र नेपाल पुलिस छन्।
प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।