जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै छन्।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि विश्वासको मत लिन अहिले बिहान ८ः३० बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको छ। बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने छन्।
बैठक आह्वानसम्बन्धी सूचना प्रदेशसभा सदस्यलाई पुर्याइएको छ। उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले बिहानका लागि बैठक आह्वान गर्ने सहमतिअनुसार बैठक आह्वान गरिएको हो। बिहान प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ७ बजे नै आह्वान गरिएको छ।
यदि यादवले विश्वासको मत पाउन नसकेमा संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनको प्रक्रिया अघि बढाउन आदेश दिएको छ। सर्वोच्चको आदेश औपचारिक रुपमा नबुझे पनि यादवले बुधबार नै विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रदेशसभा समक्ष आग्रह गरेका हुन्।