काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

१७ मंसिर २०८२
अ+
अ-

बागलुङ। बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन्।

विशेष गरी मुस्ताङ घुम्नका लागि आएका पर्यटकहरू यहाँ आउने गरेका छन्। पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन्।

शालग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ। सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिए।

पछिल्लो चार महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको उनको भनाइ छ। गत वर्ष झण्डै दुई लाख पर्यटक यहाँ आएको उनले बताए । सङ्ग्रहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो।

त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ। सङ्ग्रहालयमा ३०० किलो तौलसम्मका शालग्राम छन्। ऋषि प्रपन्नचार्यले भने, “नेपालीसहित भारतीय पर्यटकको आकर्षण बढेको छ, सुरुमा खासै पर्यटकको आगमन हुन सकेको थिएन, तर पछिल्लो समय आगन्तुकको सङ्ख्या बढ्दै गएको छ, अहिले सार्वजनिक बिदामा एक हजारभन्दा बढी पर्यटक यहाँ आउँछन्, अरू बेला पनि दुई/तीन सय आइरहेका छन्।”

पश्चिम नवलपरासीबाट घुम्न आएकी एलिना खनालले सङ्ग्रहालय धार्मिक महत्वको भएको बताइन्। उनी मुक्तिनान पुगेर फर्कने क्रममा यहाँ आएकी थिइन्। “यति ठुला सङ्ग्रहालयबारे मलाई थाहा थिएन, यहाँ आएर यति धेरै शालग्राम अवलोकन गर्न पाउँदा निकै खुसी लाग्यो”, खनालले भनिन्, “कालीगण्डकीमा अहिले शालग्राम पाइन छोडे, तर यहाँ सङ्ग्रहित गरेर राखेको देख्दा अचम्म लाग्यो, यसको संरक्षण गर्न जरुरी छ।”

शालग्राम सङ्ग्रहालय अवलोकनका लागि चितवनबाट आउनुभएका टीकाराम पाठकले पारिवारिक भ्रमणका लागि यहाँ आएको बताए। सङ्ग्रहालयमा राखिएका कालिगण्डकी नदीको उत्गमस्थल दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको नक्सासहितको आकृतिले आकर्षित गरेको उनको भनाइ छ। शालग्राम सङ्ग्रहालय क्षेत्रमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका थुप्रै धार्मिक संरचना निर्माण भएका छन्।


१७ मंसिर २०८२
अ+
अ-

खोटाङ। देश तथा विदेशमा रहेका दुमी किरात राईहरु खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन्।

दुमी किरात राई फन्सीकीमको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपालसहित छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा हङकङ, अमेरिका र बेलायतमा बसोबास गर्ने दुमी किरात राईहरु खार्मीस्थित रुधालुङमा भेला भएका हुन्।

‘पुख्र्यौली ज्ञान, साझा पहिचान’ भन्ने नाराका साथ सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा साङ्गाठानिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सीकीमका महासचिव तेजमाया मुरह दुमी राईले जानकारी दिए।

किरात समुदायको महान चाड छीरीयाम्लो (उँधौली) को अवसर पारेर आयोजना गरिएको महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना सचिव, एक कोषाध्यक्ष र एक जना सहकोषाध्यक्षसहित २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्ने जनाइएको छ।

महाधिवेशनको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा दुमी किरात राईहरुको नाग्रे कुबी (पित्रे धामी) ले तीन चुल्हा पुजेर गरेका छन्। महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा किरात लिपि समावेश गरिएको जानकारी दिएका छन्।

“म भट्टराई परिवारमा जन्म लिए पनि किराती हुँ। हामीलाई किराती हुनुमा गर्व लाग्छ । त्यसैले नगरपालिकाले गर्ने हरेक क्रियाकलापमा मुन्दुमी कुराहरु जोडेर गर्ने गरेका छौँ”, उनले भने, “मुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न गरिसकेका छौँ। विभिन्न ४० देशका ख्याति प्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्र सङ्कलन गरेर मुन्दुम अन्तरराष्ट्रिय चित्रकला सङ्ग्राहलय स्थापना गरेका छौँ । यसले किराती सभ्यतालाई विश्वभर चिनाउन मद्दत गरेको छ।”

माझ किरात भनेर चिनिने खोटाङको खार्मीस्थित रुधालुङको जगत आधारभूत विद्यालयको प्राङ्गणमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनमा दुमी किरात राईहरुको वङ्शावलीसमेत विमोचन गरिएको छ। संस्कृतिविद् चतुरभक्त राईले सङ्कलन, लेखन तथा सम्पादन गर्नुभएको ९५० पृष्ठको वङ्शावलीमा दुमी किरात राईहरुको २२ पाछा तथा ११ सामायी समेटिएको छ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरुको वङ्शावली सङ्कलन, लेखन तथा सम्पादन गर्नुहुने संस्कृतिविद् राईलाई फन्सीकीमले सफरी (फेटा) बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ।

किरात राई संस्कार तथा संस्कृति झल्कने विभिन्न स्टल राखिएको महाधिवेशन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तथा तयातङ्कु लगायतको उपस्थिति थियो।

किरात यले सम्वत् (यल थो ५०८५) को अवसर पारेर आयोजना गरिएको राष्ट्रिय महाधिवेशनमा शुभकामना आदानप्रदान, सांस्कृतिक झाँकी प्रदर्शन तथा बुढापाकाबाट मुन्दुमी ज्ञानसमेत आदानप्रदान गरिने आयोजक दुमी किरात राई फन्सीकीमका केन्द्रीय अध्यक्ष डा नेत्रमणि हलक्सु दुमी राईले जानकारी दिएका छन्। दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन्।