काठमाडौँ। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जित निकाल्दै अङ्कतालिकाको शीर्ष चार स्थानमा पुगेको छ।
विराटनगर किंग्सलाई पाँच विकेटले हराउँदै लुम्बिनीले आज यो स्थान तय गरेको हो, अब बाँकी रहेको एक खेलमा जित निकालेमा लुम्बिनीको ‘प्लेअफ’को यात्रा सुनिश्चित हुनेछ।
आजको जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा लुम्बिनीका खेलाडी सन्दीप जोराले भने, “महत्त्वपूर्ण तेस्रो जित हात पारेका छौँ। बाँकी रहेको खेलमा पनि जित निकालेर प्लेअफ पुग्नेछौँ भन्ने विश्वास छ।”
आजको जितले टोलीको मनोबल उच्च भएकाले अबको खेल पनि जित्ने उनको दाबी छ। विदेशी खेलाडीसँग खेल्दा क्षमता अभिवृद्धिमा सहयोग पुग्नेसमेत जोराले बताए।
आजको हारले अङ्कतालिकाको तेस्रो स्थानमा रहेको विराटनगरलाई ‘प्लेअफ’ पुग्न बाँकी रहेको खेल जित्नुपर्ने दबाब बढेको छ। विराटनगरको छ खेलबाट आठ अङ्क रहेको छ।
विराटनगरका खेलाडी लोकेश बमले ब्याटिङमा राम्रो गर्न नसक्दा आजको खेल गुमाउनु परेको बताए । उनले भने, “ब्याटिङ सोचेजस्तो हुन सकेन, १५/२० रन थप भएको भए हामीलाई जित्न सहज हुन्थ्यो । पहिलो इनिङमा रन कम हुँदा बलिङमा पनि पछि पर्यौँ।”
‘टप अर्डर’का ब्याटरले हालसम्मको कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने बताउँदै उनले आगामी खेलमा सुधार हुने विश्वास व्यक्त गरे।