२० मंसिर २०८२
अ+
अ-

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले निद्राजन्य विकार (स्लिप डिसअडर्स) को चुनौतीसँग लड्न थप सचेतना र अनुसन्धान जरुरी रहेको उल्लेख गरेका छन्। निद्राले शरीर, मन र आत्मालाई पुनः स्फूर्ति प्रदान गर्ने मात्र नभई स्मरणशक्ति, भावनात्मक सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने औषधि सरहको भूमिका निर्वाह गरेको उनको भनाइ छ।

उपराष्ट्रपति यादवले नेपालमा निद्रासम्बन्धी विकारहरुको बढ्दो चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले ‘नेप्लिज सोसाइटी अफ स्लिप डीसअडर्स’ द्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निद्राको महत्त्वमा जोड दिएका हुन्।

“आधुनिक जीवनशैली, शहरीकरण, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले स्लिप डिसअडर्सको समस्या गम्भीर बन्दै गएको छ‚” उनले भने, “यसले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारिहेको छ।” उनले मानसिक तनाव, बेरोजगारी, आर्थिक असुरक्षा तथा मधुमेह, उच्च रक्तचापजस्ता रोगले निद्रामा गहिरो असर पारिरहेकोले समयमै यतिप्रति सबैको ध्यानाकृष्ट हुन जरुरी रहेको बताए।

“निद्राजजन्य विकारहरुले व्यक्तिगत मात्र नभई सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्न सक्छ‚” उपराष्ट्रपति यादवले भने, “नियमित जीवनशैली, ध्यान, योग, शारीरिक व्यायाम र विशेषज्ञ चिकित्सकसँग परामर्शलाई प्राथमिकता दिएर यसका असरहरुलाई न्यूनीकरण गर्न सकिन्छ।”

उनले विद्यालयदेखि समुदायसम्म निद्राको महत्त्वबारे सचेतना कार्यक्रम सञ्चालन, नेपालमै स्लिप मेडिसिनमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी तयार गर्ने, स्वास्थ्य नीतिमा निद्राजन्य विकारको पहिचान र उपचारलाई प्राथमिकता र नेपाल-आधारित अनुसन्धानलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउन जोड दिए।

यादवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक तथा नीति निर्माताहरूको सक्रिय सहभागिता रहेको सम्मेलनले नयाँ विचार, अनुसन्धानका अवसर र सहकार्यका सम्भावनाहरू सिर्जना गर्ने विश्वास व्यक्त गर्दै यसले नेपालमा निद्रासम्बन्धी विकार न्यूनीकरणका उपाय पहिचान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे।