तीन सन्तान बोकेर हिँडेका नागेन्द्रको मोटरसाइकललाई बसले ठक्कर दिएपछि पूर्वपश्चिम राजमार्ग अशान्त

२० मंसिर २०८२
तस्बिरहरु : श्यामपूर्ण श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

रौतहट। चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि आफन्तहरूले शनिबार पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै सडक अवरोध गरेका हुन्।

दुर्घटनाका बेला मोटरसाइकलमा मृतकसँगै उनका तीन सन्तान पनि यात्रारत थिए। उनीहरुको अस्पतालमा उपचार हुँदै छ।

चन्द्रपुर नगरपालिका ६ मा पर्ने मोथियाही पुलनजिक गौरबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ना.४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना.३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका २‚ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको घटनास्थलमै मृत्यु भएको थियो।

राजमार्ग अवरुद्ध हुँदा चन्द्रनिगाहपुर चोकमा सयौं सवारीसाधन अलपत्र परेका छन्। मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन्।