काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

एनपीएल

दोस्रोपटकमा सुदूरपश्चिमलाई जित्नुछ उपाधि, लुम्बिनीलाई गुमाउनु केही छैन

२६ मंसिर २०८२
नेपाल प्रिमियर लिगको उपाधि भिडन्तअघि दुई टोलीका कप्तान। तस्बिर : एनपीएल
अ+
अ-

साबिक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को एक मात्र टोली हो, जसले लगातार दोस्रो संस्करणमा पनि फाइनलसम्मको यात्रा तय गरेको छ।

पहिलो संस्करणको फाइनलमा जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित हुँदा यो टोली उपाधि चुम्न चुकेको थियो। तर, उक्त पीडा भुलेर पुनः सुदूरपश्चिम फाइनलसम्मको यात्रा तय गर्न सफल भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने फाइनलमा सुदूरपश्चिमले पहिलोपल्ट उपाधिनजिक पुगेको लुम्बिनी लायन्सलाई चुनौती पेस गर्नेछ।

संयोग नै भन्नुपर्ला, सुदूरपश्चिम पहिलो संस्करणझैँ लयमा छ। उक्त संस्करणको लिग चरणमा सुदूरपश्चिमले चितवन राइनोजसँग ३३ रनले हार बेहोरेको थियो। यसपल्ट पनि त्यस्तै गल्ती दोहोरियो। लिग चरणका ६ खेल लगातार जितेको यो टोलीले छैटौँ खेलमा भने विराटनगर किङ्ससँग ६ विकेटको लज्जास्पद हार बेहोर्न पुग्यो। तर, क्वालिफायर १ मा उक्त हारको ७७ रनले बदला लिँदै सुदूरपश्चिम पुनः उपाधि दाबेदार बनेको हो।

विराटनगरसँगको हारले नै आफूहरूलाई बलियो बनाएको बताउँछन्, बलर स्कट कुगेलेइन। “विराटनगरसँगको हारले कहाँ सुधार गर्नुपर्छ भन्ने थाहा भयो,” उनी भन्छन्।

उपाधि भिडन्तको पूर्वसन्ध्यामा ट्रफीसहित दुई टोलीका कप्तान। तस्बिर : एनपीएल

तर, विपरीत दिशाबाट उदाएको लुम्बिनीविरुद्धको फाइनल खेल भने रोचक हुनेछ। पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सानदार सुरुआत गरेको थियो। त्यसपछि कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्ससँग पराजित लुम्बिनीले पाँच खेलमा लगातार जित हात पार्दै फाइनलको यात्रा तय गरेको हो।

कस्तो छ ब्याटिङ?

सुदूरपश्चिमको बलियो हतियार भनेकै टप अर्डर ब्याटर विनोद भण्डारी हुन्। जारी प्रतियोगितामा यी ३४ वर्षीय विकेटकिपर ब्याटरले उत्कृष्ट लय समात्दै आठ इनिङ्समै दुई अर्धशतकसहित २६४ रन बनाइसकेका छन्। जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने उनी दोस्रो खेलाडी हुन्।

लिग चरणको चौथो खेलमा लुम्बिनीलाई सात विकेटले पराजित गर्दा उनले अविजित ६९ रनको इनिङ्स खेलेका थिए। त्यति मात्र नभई कप्तान रोहितकुमार पौडेल, दिलीप नाथ र गुल्बदीन नैइबलाई विकेटको पछाडि रहँदै आउट बनाएका थिए।

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी। तस्बिर : एनपीएल

जारी प्रतियोगितामा विनोद सुदूरपश्चिमका संकटमोचक बनिरहेका छन्। उनले काठमान्डु गोर्खाजविरुद्धको लिग चरणको खेलबाहेक अन्यमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका छन्। अझ क्वालिफायर १ मा विराटनगरविरुद्ध त उनी नायक नै साबित बने। उनले ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रन बनाएका थिए। उक्त खेलमा सुदूरपश्चिमले ७७ रनको जित निकाल्दै फाइनलसम्मको यात्रा तय गर्‍यो।

उनीबाहेक मध्यक्रममा आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरी पनि लयमा देखिन्छन्। आरिफले आठ इनिङ्समा १८० र ऐरीले समान इनिङ्समा १४९ रन बनाएका छन्। पहिलोपल्ट उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने सुदूरपश्चिमलाई यी तीन खेलाडीबाट थुप्रै अपेक्षा छ।

लुम्बिनीलाई प्रतियोगिताको फाइलनसम्म पुर्‍याउन भने शीर्षक्रमका रोहितसँगै डी’आर्सी सटको इनिङ्स नै निर्णायक बनिरहेको छ। ३५ वर्षीय अस्ट्रेलियन ब्याटरले विराटनगरविरुद्धको खेलमा ५७ रनको इनिङ्स खेल्दै टोलीलाई प्रतियोगितामा पुनरागमन गराएका थिए। त्यो नै विराटनगरको लिग चरणमा दोस्रो हार रह्यो।

जारी प्रतियोगिताको नौ इनिङ्समा उनले एक अर्धशतकसहित २४२ रनको योगदान गरिसकेका छन्। उनीबाहेक कप्तान रोहित पनि उत्कृष्ट लयमा छन्। एउटै खेलमा अर्धशतक बनाउन नसके पनि उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा छन्। उनले समान इनिङ्सबाट २६० रन बनाएका छन्।

लुम्बिनी लायन्सका खेलाडी। तस्बिर : एनपीएल

यी दुई ब्याटरकै प्रदर्शनको भरमा उडान भरेको लुम्बिनीलाई यसपल्ट गुमाउनु केही छैन। “गुमाउनलाई केही छैन। यहाँ पुग्नका लागि हामीले लगातार पाँच खेल जित्नुपरेको थियो। त्यसैले दबाब उनीहरूलाई हुन्छ भन्ने लाग्छ। हामी अन्डरडग टोली हुनेछौँ। त्यसैले हामी जसरी छौँ, त्यसरी नै आउनेछौँ,” उनी भन्छन्।

बलिङमा मजबुत सुदूरपश्चिम

यसपल्ट सुदूरपश्चिमलाई बलियो बनाउने हतियार बलिङ नै रह्यो। पेसर अविनाश बोहरा १६ विकेटसहित सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। उनीबाहेक हर्मित सिंह, स्कट कुगेलेइन, ऐरी र हेमन्त धामीले पनि आफ्नो लय समाइरहेका छन्।

यी चार बलरको नाममा मात्र ३७ विकेट छ। अझ स्कटले आफ्नो लय समात्न सकेका छैनन्। उनी जुनसुकै बेला पनि लय परिवर्तन गर्नसक्ने खेलाडी हुन्। उनले गत संस्करणमा १७ विकेट लिएका थिए।

सुदूरपश्चिमको तुलनामा लुम्बिनी बलिङमा अलि कमजोर देखिन्छ। यो टोली स्पिनर शेर मल्ल र पेसर रुबेन ट्रम्पलम्यानमा पूर्ण निर्भर छ। मल्लले नौ इनिङ्समा १४ विकेट लिएका छन् भने रुबेनले १२। यी दुईबाहेक अन्य बलरले लय समात्न सकेका छैनन्। त्यसैले लुम्बिनी पार्टटाइम बलरमा पूर्ण निर्भर हुन थालेको छ। फाइनलमा यही कमजोरीको फाइदा सुदूरपश्चिमले लिनसक्छ।

अघिल्लो संस्करणमा पनि यस्तै प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिमले अन्तिममा दबाब खेप्न सकेको थिएन। अझ यसपल्ट क्रिस लिन र जोस ब्राउनजस्ता लयमा रहेका ब्याटर अस्ट्रेलिया फर्किनुले सुदूरपश्चिमलाई निकै घाटा पुर्‍याएको छ। यी दुईको स्थानमा आएका पाकिस्तानी मूलका अमेरिकी ब्याटर मुख्तर अहमेद र भारतीय ब्याटर सेल्डन ज्याक्सनले लय समात्न सकेका छैनन्। त्यसैले लुम्बिनीले यी शीर्षक्रमका ब्याटरलाई नै कमजोर बनाउँदै उपाधिमा धावा बोल्न सक्छ।