जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन्।
प्रदेश सभामा यादवले शुक्रबार राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ९२ र विपक्षमा शून्य मत परेको थियो। १०७ सदस्यीय रहेको मधेस प्रदेश सभामा आज ९२ सदस्य उपस्थित थिए।
मुख्यमन्त्रीले आफूमाथि विश्वास छ भनि राखेको प्रस्तावको पक्षमा ९२ मत परेको र उक्त संख्या प्रदेश सभाको बहुमत भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरिन्। नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता यादव सात दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। यादवलाई प्रदेश सभाका १० दलले विश्वासको मत दिए।
१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ (एक निलम्बित), नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९ (एक निलम्बित), जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ (एक निलम्बित), नेकपा एकीकृत समाजवादी पार्टीका ७ र नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना प्रदेश सभा सदस्य छन्।
नेकपा एमालेले समेत सरकारलाई विश्वासको मत दिएको छ। नेकपा एमालेका मोहम्द समिरले सरकारको स्थायित्वको लागि विश्वासको मत दिएको जानकारी गराए।
प्रदेश सभामा मुख्यमन्त्री यादवले प्रदेश सरकार सुशासन विकास र प्रदेशको समृद्धिका लागि अगाडि बढ्न प्रतिबद्ध रहेको बताए। उनले सुशासन र पारदर्शिता सरकारको नीतिगत निर्णय गर्ने र सेवाप्रवाह गरिने मद्दत पुर्याउने बताए।
उनले मधेस प्रदेश अन्नको भण्डार रहेको र कृषिलाई आधुनिकीकरण गर्ने‚ कृषिमा आधरित उद्योगलाई बढावा दिनेमा उनले जोड दिए। यादवले प्रदेश सरकारसँग सीमित साधन-स्रोत रहेको त्यसलाई अधितम प्रयोग गर्ने बताए।
उनले वित्तीय सुशासन प्रवर्द्धनको कार्यदल गठन गरेको बताउँदै वित्तीय व्यवस्थामा रहेको कमी-कमजोरी हटाउने जिकिर गरे। उनले सार्वजनिक खर्चलाई मितव्ययी बनाउने बताउँदै विकास निर्माणलाई सहज बनाउन जुटेको दाबी पनि गरे।
मधेस विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको एमबीबीएसको कक्षाका कारण ३० करोड रुपैयाँ भार परेको बताउँदै उनले छात्रवृत्तिमा सहयोग गर्न संघीय सरकारसँग पहल भइरहेको बताए। यादवले मधेसलाई संघीयता चाहिएको बताउँदै संघीयतालाई बलियो बनाउन र यसलाई कार्यान्वयन गर्न आफ्नो प्रमुख दायित्व रहेको पनि उनको भनाइ छ। उनले भने‚ “मेरो पहिलो प्राथमिकता कृषि, शिक्षा र पर्यटनलाई छ, सुशासन स्थापना गर्न सदैव प्रतिबद्ध छु। सबैको साथको आवश्यकता छ।”
यो पनि…