काठमाडौँ। युरो एसिया एजुकेसन कन्सल्टेन्सी लैनचौरका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। उच्च शिक्षा अध्ययन सिलसिलामा विद्यार्थीलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतलगायत देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार उदयपुर घर भई काठमाडौँको पुरानो बानेश्वर बस्ने डाँगीलाई सोमबार उनकै कार्यालयबाट पक्राउ गरिएको हो। डाँगीले विद्यार्थीहरूबाट २६ लाख आठ हजार ५६५ रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ।
बस्नेतका अनुसार ती देशमा पठाउन कलेज शुल्क, बीमा नीतिसमेतका लागि इन्टरनेसनल डलर कार्यमार्फत भुक्तानी गर्दा छिटो र सहज हुने भन्दै उनले आफ्नो खातामा रकम जम्मा गर्न लगाउँथे। तर, सम्बन्धित विश्वविद्यालय र इन्सुरेन्स कम्पनीमा भुक्तानी गरेको कुनै विवरण उपलब्ध गराउँदैनथे।
झुटो आश्वासन देखाएर विश्वासमा पारी विद्यार्थीबाट मोटो रकम संकलन गरेको उजुरी परेपछि डाँगीलाई पक्राउ गरिएको बस्नेतले बताए। थप अनुसन्धान गर्न डाँगीलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।