काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
फाइल तस्वीर
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको छ ।

हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

कांग्रेसका ८ सांसदले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए । त्यसमा थप ६० सांसद हस्ताक्षर दर्ता गरिएको खातीले बताए।

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन् ।

उनीहरूले सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् ।

एमालेका ७५ सांसदहरूले यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन् ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू दीपक खड्का, जावेदा खातुन जागा, सिता राना, आशा बिक, शान्ति बिक, नागिना यादवले रिट दायर गरिसकेका छन् । एमालेले मङ्सिर १० गते र कांग्रेसका सांसदहरूले मङ्सिर २३ गते रिट दर्ता गरेका थिए ।

एमालेले संसदीय दलको बैठकबाट निर्णय गरेर पार्टीका ७५ सांसदको हस्ताक्षरसहित संस्थागत रूपमा सर्वोच्चमा रिट दायर गरेको थियो ।