काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

८ असार २०८३
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ।

विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार गण्डकी र बागमती प्रदेशका तराई भू-भागमा भने तापमान वृद्धिको अनुमान गरिएको छ। देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

पोखरा, काठमाडौँ, ओखलढुंगा‚ धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायत क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत छ। उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ।

धनगढीमा ३८ देखि ४० र नेपालगन्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। वीरगन्ज, भैरहवा र घोराहीमा गर्मी र चर्को घाम रहनेछ।

विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक कामबाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जनस्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।