काठमाडौँ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता २३ देखि २६ पुससम्म हुने भएको छ।
प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए। नेपाल प्रहरी, सेना, एपीएफ, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइनेछ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ छ। विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विधागत उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिनेछ।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको उद्घाटनका अवसरमा विगतमा झैँ एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिनेछ।
खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइनेछ। सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो। सातौंमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो।
पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका थिए। प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, विभिन्न कर्पोरेट हाउस र पालिकाको सहयोग रहेको आयोजकले जनाएको छ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता सफलताका लागि शुभकामना दिए। प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको पाँच लाख रुपैयाँबराबरको बिमा गरिएको बताए।
महिला खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको सुरुआत गरेको थियो।