ढाका। सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किएका छन्।
पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता पतनपछि उनको आगमनलाई बङ्गलादेशको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
रहमान आफ्नी धर्मपत्नी जुबैदा रहमान र छोरी जाइमा रहमानसँग लन्डनबाट विमान बङ्गलादेश एयरलाइन्सको उडानमार्फत ढाका आइपुगेका हुन्। उक्त विमान ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुअघि सिल्हटमा अवतरण गरेको थियो।
उनको स्वागतका लागि विमानस्थल आसपास र ३०० फिट रोड क्षेत्रमा ठूलो सङ्ख्यामा बिएनपी समर्थक तथा कार्यकर्ता भेला भएका थिए। देशका विभिन्न भागबाट आएका समर्थकहरूले क्षेत्रलाई मानौँ जनसागरमा परिणत गरेका थिए। पार्टीका वरिष्ठ नेताहरू, स्थायी समितिका सदस्यसहित विमानस्थलमै उनलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो।
भीड व्यवस्थापनका लागि विमानस्थल प्रशासनले २४ घण्टाका लागि आगन्तुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो। वैध टिकट र पासपोर्ट भएका यात्रुहरू बाहेक अन्यलाई विमानस्थल प्रवेशमा रोक लगाइएको बिडीन्युज२४ ले जनाएको छ।
बङ्गलादेशको अन्तरिम सरकारले पनि रहमानको सुरक्षाका लागि व्यापक तयारी गरेको बताएको छ। अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले सरकार उनको स्वदेश फिर्तीलाई स्वागत गर्दै बिएनपीसँग समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।
ढाका आगमनपछि रहमान ३०० फिट रोड (३६ जुलाई एक्सप्रेसवे) मा आयोजित संक्षिप्त स्वागत कार्यक्रममा सहभागी भए। त्यसपछि उनी एभरकेयर अस्पताल जाने र पछि गुलसनस्थित आफ्नै निवासमा बसाइँ सर्ने कार्यक्रम रहेको छ।
बिएनपीका अनुसार रहमानले डिसेम्बर २७ मा मतदाता दर्ता गर्ने योजना बनाएका छन्। यसका लागि निर्वाचन कार्यालयहरू शनिबार पनि खुला रहने जानकारी दिइएको छ।
यसैबीच, फेब्रुअरी १२ मा हुने संसदीय निर्वाचनका लागि बिएनपी नेत्री खालिदा जिया र तारिक रहमानका तर्फबाट बोगुराका विभिन्न निर्वाचन क्षेत्रका लागि नामाङ्कन फारम सङ्कलन भइसकेको बिडीन्युज२४ ले जनाएको छ।