काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीहरुले सरकार छाड्न दबाब दिए पनि धैर्य गरेर आफूहरूले काम गरिरहेको बताएकी छन्।
बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफूहरू चर्को दबाबमा रहेको गुनासो गरिन्।
उनले काम गर्दा गर्दै फेन्ट हुने अवस्था हुँदा पनि काम गरिरहेको बताइन्। “कतिपय अवस्थामा काम गर्दा-गर्दै फेन्ट हुने अवस्था आएको छ। बाहिरकाले काम गरेको देख्दैन। सबै कुरा एकैचोटि होस् भन्छन्। क्षमता र तागतले भ्याउन गर्ने रहेछ। हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले पनि गाली गर्छ। अहिले छोड, भोलि छोड भन्छ । जेन-जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ। छोडौँ भने के छोडौँ।”
‘राजनीतिक दल र जेन-जीले सरकार छाड्न दबाब दिएका दियै छन्‚ धैर्य गरेर काम गरेकी छु’
उनले आफूहरू पेन्डुलमजस्तो भएको पनि गुनासो गरिन्। ‘हामी त पेन्डुलमजस्तो भयौँ। त्यही पनि सकस‚ मिहिनेत गरेर‚ बहुत धैर्य धारण गरेर काम गर्दै छौँ।”
उनले सम्बोधनका क्रममा जे गर्दा पनि सुख नपाउने अवस्था रहेको बताइन्। आफूहरूका बारेमा पनि कथा लेख्न आग्रह गरिन्। “कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ। हाम्रोबारेमा पनि कथा लेख्नुस्। हाम्रो गृहमन्त्रीको हाल के छ त्यही लेख्नुस्, मेरो के हाल छ त्यही लेख्नुस्। अर्थमन्त्रीको त्यस्तै छ। २५ वटा ३० वटा जेन-जी समूह छ। मुलुक बङ्गलादेश नहोस् भन्ने सुरमा हामी छौँ।”