राजनीति
कोही पार्टी एकता गर्दै, कोही एउटै चुनाव चिह्नमा लड्ने तयारीमा
जनकपुरधाम। आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि मधेसकेन्द्रित दलहरूले तयारी तीव्र पारिरहेका छन्। सरकारले निर्वाचनको वातावरण बनाउन आवश्यक तयारी नगरेको आरोप लगाए पनि मधेसकेन्द्रित दलहरूको निर्वाचनलक्षित भेटघाट र पार्टी प्रवेशलगायत कार्यक्रमहरू बाक्लिन थालेका छन्।
समानुपातिक निर्वाचनका लागि सूची बनाउनेदेखि जिल्ला भेला गरेर प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम संकलन गर्नसम्म उनीहरूले थालिसकेका छन्। निर्वाचनकै लागि भनेर कार्यगत मोर्चा बनाउनेदेखि पार्टी एकतासम्मको तयारीमा समेत केही दलहरू जुटेका छन्।
जनता समाजवादी पार्टी, (जसपा) नेपालका महासचिव रामकुमार शर्मा देशमा लोकतान्त्रिक पद्धतिबमोजिमको सरकार निर्माण गर्ने माध्यम निर्वाचन नै भएकाले आफूहरू निर्वाचनमा होमिएको बताउँछन्। उनी भन्छन्, “देशलाई अगाडि बढाउन लोकतान्त्रिक पद्धतिअनुसार सरकार बन्नुपर्छ। त्यसका लागि एक मात्र माध्यम निर्वाचन भएकाले हाम्रो पार्टीले निर्वाचनबाटै निकास चाहेको छ।”
शर्माका अनुसार जसपा, नेपालले अहिले प्रत्यक्षतर्फ उम्मेदवारको नाम जिल्लाबाट मगाइरहेको छ भने विचार मिल्नेहरूसँग कार्यगत एकताको प्रक्रियासमेत अगाडि बढाएको छ।
बुधबार मात्रै ९ पुसमा जसपा, नेपालले स्वाधीन मधेस जनअभियानसँग कार्यगत एकता घोषणा गरेको छ। हाल संघर्षका कार्यक्रमहरू सँगै गर्ने र भविष्यमा आवश्यकताअनुसार पार्टी एकता नै गर्न सक्ने सहमति गर्दै जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनअभियानका संयोजक कैलास महतोले हस्ताक्षर गरेका छन्।

नेपाली कांग्रेस पर्साका पूर्वमहाधिवेशन प्रतिनिधि तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य कृपासिन्धुप्रसाद चौधरीलाई जसपाको सदस्यता प्रदान गर्दै उपेन्द्र यादव
यस्तै, जनमत पार्टीले पनि जिल्ला जिल्लामा निर्वाचनलक्षित भ्रमण तथा आन्तरिक प्रशिक्षण सकाएसँगै उम्मेदवारको नाम सिफारिस गर्ने काम थालेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाका अनुसार समानुपातिक सूची तयार गर्ने काम पनि भइरहेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव सुरेन्द्र झा उम्मेदवारका लागि नाम सिफारिस आइरहेको र समानुपातिक सूची निर्माणको तयारीमा रहेको बताउँछन्।
यस्तै, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, अशोक राई अध्यक्ष रहेको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनावचिह्नमा निर्वाचनमा जाने सहमति गरेर निर्वाचन आयोगमा पत्र पठाइसकेका छन्। राष्ट्रिय मुक्ति पार्टीका महासचिव अनिल महासेठ अहिले जिल्लाहरूबाट उम्मेदवारका नाम पठाउने काम भइरहेको बताउँछन्।
लोकप्रियता देखाउन तीन ठाउँबाट सिफारिस
संवैधानिक प्रावधानअनुसार एक व्यक्ति केवल एउटा निर्वाचन क्षेत्रबाट मात्र उम्मेदवार बन्न सक्छ। तर, आफू लोकप्रिय छु भन्ने देखाउनकै लागि मधेसकेन्द्रित दलका अधिकांश नेताहरूले एकभन्दा बढी ठाउँबाट नाम सिफारिस गराएका छन्।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित भएका जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम यसपटक सप्तरी-२, बारा-२ र धनुषा-२ बाट सिफारिस भएको छ। जसपा, नेपालका सचिव सुरेशकुमार मण्डल सम्मानस्वरूप अध्यक्षलाई विभिन्न ठाउँबाट सिफारिस गरिने गरेको बताउँछन्। “अध्यक्षहरूले सबैतिर जित्ने सम्भावना रहन्छ। कार्यकर्ताहरू आफ्नो क्षेत्रमा आइदिए राम्रो हुन्थ्यो भन्ने चाहन्छन्। त्यहीअनुसार सिफारिस पनि गर्छन्। यसले कार्यकर्ताहरूमा एकखालको राजनीतिक उत्साहसमेत दिन्छ,” उनी भन्छन्।
यस्तै, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि तीन ठाउँमा सिफारिस भएका छन्। उनको नाम धनुषा-३, सर्लाही-२ र सप्तरी-२ बाट सिफारिस भएको छ। धनुषा र सर्लाहीबाट महतोले यसअघि पनि चुनाव लडेका थिए। पार्टीका सहमहासचिव गजेन्द्र मण्डल मधेस आन्दोलनका प्रणेता गजेन्द्रनारायण सिंहको बिँडो केवल राजेन्द्र महतोले थाम्न सक्ने दाबी गर्दै यसपालि उनलाई सप्तरीबाट समेत सिफारिस गरिएको बताउँछन्।
त्यसैगरी लोसपाका अध्यक्ष महन्थ ठाकुरको नामसमेत यसपालि समानुपातिकतर्फ सर्लाहीबाट र प्रत्यक्षतर्फ महोत्तरी-३ बाट सिफारिस गरिएको छ।
पछिल्लो निर्वाचनमा मधेसको शक्तिका रूपमा उदाएको जनमत पार्टीका अध्यक्ष सीके राउतको नाम यसपटक पर्सा-२ तथा सप्तरी-१ र २ बाट सिफारिस भएको छ। पार्टीका उपाध्यक्ष कुशवाहा अध्यक्षको नाम अन्य जिल्लाबाट समेत सिफारिस हुनु स्वाभाविकै भए पनि उनी पहिले जितेको सप्तरी-२ बाटै उम्मेदवार बन्ने बताउँछन्।

जसपा परित्याग गरेका बाराका पूर्वसांसदहरू प्रमोदप्रसाद गुप्ता र पारसप्रसाद साहलाई पार्टी प्रवेश गराउँदै जनमतका अध्यक्ष सीके राउत
विघटित प्रतिनिधिसभामा मधेसकेन्द्रित दल जसपा, नेपालले प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ पाँच गरी कुल १२ सिट जितेको थियो। जनमत पार्टीले प्रत्यक्षतर्फ एक जित हात पार्दा समानुपातिकसमेत गरी उसको कुल ६ सिट थियो। त्यसैगरी लोसपाले प्रत्यक्षतर्फ चार सिट हात पारेको थियो।