१२ पुष २०८२
अ+
अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले एनएसएसएफ १३औं किन्डर ओलम्पिकको शनिबार उद्घाटन गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन्। कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए।

पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका १५ सय ४० विद्यार्थीको सहभागिता रहेको आयोजक नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) का महासचिव राजकुमार कार्कीले जनाएका छन्। विद्यार्थीले ‘मार्च पास’ गर्नुका साथै विभिन्न खेलको प्रतिस्पर्धा पनि भएको थियो।

दशरथ रंगशालामै १४ पुसमा हुने दोस्रो चरणको कार्यक्रममा ६७ विद्यालयका करिब १६ सय विद्यार्थी सहभागी हुने जनाइएको छ। एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहतालगायतको उपस्थिति थियो।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिक आयोजना गरिएको आयोजकले जनाएको छ। यसअघि ४ पुसमा शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै अध्यक्ष श्रेष्ठलाई टर्च हस्तान्तरण गरेका थिए।