पर्सा। वीरगन्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका १६३ महिला तथा किशोरीको उद्धार गरिएको छ।
माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाको उद्धार गरेको हो।
माइती नेपाल वीरगन्ज पर्साका पर्यवेक्षक गोमाकुमारी पौडेलले सीमावर्ती क्षेत्रबाट जोखिमपूर्ण अवस्थामा रहेका १३० जनालाई माइती नेपालको संरक्षणगृहमा राखिएको बताइन्। “बाँकी ३३ महिला तथा किशोरीलाई भने नेपाल प्रहरीमार्फत अभिभावकको जिम्मा लगाइएको थियो‚” उनले भनिन्।
माइती नेपालले सन् २०२४ मा सीमा क्षेत्रबाट १३५ महिला तथा किशोरीको उद्धार गरेको थियो। सन् २०२३ मा भने १९२ महिला तथा किशोरीको उद्धार गरेको थियो।
“जोखिमपूर्ण अवस्थामा उद्धार गरिएकामध्ये ४० किशोरी १८ वर्षमुनिका छन्‚” पर्यवेक्षक पौडेलले भनिन्, “१९ वर्षमाथिको सङ्ख्या भने १२३ जना छन्।” माइती नेपालले सन् २०२५ मा करिब २० हजार २३१ सवारीसाधनको जाँच गरेको थियो भने २२ हजार पाँच सय जनालाई मानव बेचबिखनविरुद्धको जनचेतनामूलक कार्यक्रम गरेको थियो।