काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच भएको सात बुँदे राजनीतिक सहमतिलाई लक्षित गर्दै नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्र अघि बढिरहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले भाद्र २३ र २४ गतेका घटनालाई भूराजनीतिक खेलको पहिलो चरणका रूपमा व्याख्या गर्दै अब त्यसकै निरन्तरता सुरु भएको बताएका हुन्।
पोखरेलले यस्तो संवेदनशील अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरू सचेत र एकजुट हुनुपर्ने बताएका छन्। उनले देशलाई बाह्य भूराजनीतिक द्वन्द्वको गोटी बन्न नदिन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
भाद्र २३ गतेको शान्तिपूर्ण युवा प्रदर्शनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको र त्यसको आडमा भाद्र २४ गते राज्य तथा लोकतान्त्रिक संरचनामाथि आक्रमण गरिएको उनको आरोप छ। ती गतिविधिका योजनाकार र सञ्चालकहरू क्रमशः सार्वजनिक हुँदै गएको दाबी पनि उनले गरेका छन्। रवि–बालेनबीच सहमति सार्वजनिक भएपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो।