काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन्।
जेन-जी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज (आइतबार) बयान दिएपछि पत्रकार सम्मेलनमार्फत उनले बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको स्पष्ट पारे।
बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने उनको भनाइ छ। “मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था छैन,” उनले स्पष्ट पारे। पूर्वमन्त्री लेखकले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरणसमेत प्रस्तुत गरिसकेको जानकारी दिए।
पूर्वमन्त्री लेखकका अनुसार गत २३ भदौमा हुने जेन-जी समूहको प्रदर्शनबारे सुरक्षा निकाय तथा गृह प्रशासनबाट पूर्वसूचना प्राप्त भएपछि २२ भदौमा नै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको थियो। बैठकमा सुरक्षा निकायहरूले सङ्कलन गरेका सूचनाको विश्लेषण गर्दै प्रदर्शन शान्तिपूर्ण हुने आयोजक पक्षबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको थियो।
बैठकअघि नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी विषयवस्तु बुझ्ने काम गरिएको उनले जानकारी दिए। “कुनै पनि हालतमा मानवीय क्षति नहोस्, भन्ने मेरो स्पष्ट आग्रह थियो,” पूर्वगृहमन्त्री लेखकले भने। प्रदर्शन कुनै राजनीतिक दल वा सङ्गठित संस्थाको आयोजनामा नभएकाले नेतृत्वविहीन हुनसक्ने तथा घूसपैठको सम्भावनाप्रति सुरक्षा निकायलाई सचेत गराइएको थियो।
बैठकमा अशान्ति वा बल प्रयोगसम्बन्धी कुनै निर्णय वा योजना नबनाइएको स्पष्ट पार्दै उनले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्तिसुरक्षाको व्यवस्था मिलाउने निष्कर्ष निकालिएको बताए। केन्द्रीय सुरक्षा समितिको बैठकपछि तत्कालीन प्रधानमन्त्रीसँग बालुवाटारमा औपचारिक छलफल गरिएको र त्यहाँ पनि मानवीय क्षति नहोस् भन्ने विषयमा जोड दिइएको पूर्वगृहमन्त्री लेखकले उल्लेख गरे।
गत २३ भदौको बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर क्षेत्रमा पुग्दा उग्र र हिंसात्मक बनेको जनाउँदै उनले प्रदर्शनमा घुसपैठ भएको बताए। उनका अनुसार प्रदर्शनका आयोजकहरूले नै आन्दोलन ‘हाइज्याक’ भएको भन्दै सहभागीलाई तितरबितर हुन आह्वान गरेका थिए।
प्रदर्शन हिंसात्मक बन्दा केही व्यक्तिको मृत्यु र धेरै घाइते भएपछि आफू अत्यन्त पीडित र मर्माहित भएको उल्लेख गर्दै पूर्वगृहमन्त्री लेखकले सोही दिन नै नैतिकताका आधारमा राजीनामा आफूले दिएको बताए। “मानिसको मृत्यु भएपछि पदीय जिम्मेवारीबाट राजीनामा दिनु नैतिक कर्तव्य ठानेँ,” उनले भने।

मन्त्री लेखकले आफूले राजीनामा दिएको २३ भदौपछि, विशेषगरी २४ भदौमा भएका घटनाले मुलुकको स्वाभिमान, लोकतान्त्रिक मूल्य र संवैधानिक संस्थामाथि गम्भीर आघात पुगेको बताए। सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतजस्ता राज्यका संवैधानिक अंग र सार्वजनिक सम्पत्तिमा भएको क्षति जेन-जी आन्दोलनको मूल भावनाविपरीत भएको उनको भनाइ छ। ती घटना असल उद्देश्य बोकेको जेन-जी आन्दोलनका नाममा भएको नभई योजनाबद्ध र घुसपैठका कारण भएको उनले दाबी गरे।
व्यक्तिगत क्षतिबारे जानकारी दिँदै पूर्वगृहमन्त्री लेखकले महेन्द्रनगरका आफ्ना दुईवटा घर जलेर नष्ट भएको, काठमाडौँस्थित निवास बस्नै नसक्ने गरी क्षतिग्रस्त भएको र प्रदर्शनकारीको आक्रमणबाट आमालाई जोगाउने क्रममा गम्भीर अवस्था सिर्जना भएको र पछि आमाको निधन भएको पनि सुनाए। साथै शान्तिप्रक्रिया, अन्तरिम संविधान २०६३ र संविधान निर्माणसँग सम्बन्धित ऐतिहासिक दस्ताबेजहरूसमेत आगलागीमा नष्ट भएको उनले उल्लेख गरे।
त्यस अवसरमा पूर्वगृहमन्त्री लेखकले आफू गृह मन्त्रालयको नेतृत्वमा रहँदा नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिएको उल्लेख गर्दै नेपाल प्रहरी ऐन २०१२ सालको रहेको अवस्थामा समयानुकूल नयाँ ऐन आवश्यक ठानेर नेपाल प्रहरीसम्बन्धी विधेयक संसद्मा दर्ता गरिएको बताए।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल ऐन २०५८ साललाई संशोधन गर्दै नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा प्रस्तुत गरिएको तथा गैरसरकारी संस्थामा आउने वैदेशिक सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्न नयाँ कानुनी व्यवस्था अन्तिम चरणमा पुगेको उनको भनाइ थियो। नागरिकता, कारागार व्यवस्थापन, राष्ट्रिय परिचयपत्र, स्थानीय प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित क्षेत्रमा पनि नीतिगत सुधार अघि बढाइएको उनको भनाइ थियो।