काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको संवेदनशील भू–राजनीतिक अवस्था र बाह्य शक्तिहरूको बढ्दो प्रभावका बीच बीपी कोइरालाले अघि सारेको ‘राष्ट्रिय मेलमिलाप’ को नीति आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन् ।
४९औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार जारी गरिएको सन्देशमा उनले विगत पाँच दशकअघि जस्तै वर्तमान समयमा पनि विश्व राजनीतिमा महाशक्ति राष्ट्रहरूको स्वार्थ र टकराव प्रष्ट देखिन थालेको उल्लेख गरेका छन् । नेपाल जस्तो भू–राजनीतिक दृष्टिले संवेदनशील देशले आफ्नो राष्ट्रियता, सार्वभौमसत्ता र स्वतन्त्रता जोगाउन राष्ट्रिय एकता र मेलमिलापको बाटो बाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ ।
सन्देशमा डा. कोइरालाले भनेका छन्, “आज पाँच दशकपछि फेरि अन्तर्राष्ट्रिय स्तरमा शक्तिराष्ट्रहरूको दबाब र स्वार्थ सतहमा आएका छन् । यस्तो अवस्थामा बीपी कोइरालाका विचारलाई हामीले मन, वचन र कर्मबाट आत्मसात् गर्न आवश्यक छ ।”
उनले राष्ट्रिय मेलमिलापको अवधारणा कांग्रेस पार्टीमा मात्र सीमित नरही सिंगो राष्ट्रसँग जोडिएको विषय भएको स्पष्ट पारेका छन् । सत्ता र दलगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् । देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न बीपीको विचारलाई साझा राष्ट्रिय प्रतिबद्धता बनाउने जिम्मेवारी कांग्रेसको रहेको उनको भनाइ छ ।
डा. कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवादप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको एकता पार्टी सुधारको विषय मात्र नभई राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्दै उनले युवा पुस्तालाई शान्त, स्थिर र समृद्ध नेपाल हस्तान्तरण गर्न आन्तरिक कलह, मतभेद र व्यक्तिगत महत्वाकाङ्क्षालाई अन्त्य गर्नुपर्ने बताए ।
उनले चेतावनी दिँदै भनेका छन्, “जनताको विश्वास र भरोसा कायम गर्न नसके कांग्रेसको भूमिका कमजोर हुँदै जान्छ । यस यथार्थलाई बेवास्ता गरियो भने पार्टी राजनीतिक रूपमा भूमिकाविहीन हुने खतरा रहन्छ ।”