जलविद्युत्
प्रसारण लाइन नबन्दा मर्स्याङ्दी-ङादी खोला करिडोरका पाँच आयोजनाले वार्षिक दुई अर्ब १५ करोड रुपैयाँ आम्दानी गुमाउँदै
लमजुङ। विद्युत् उत्पादन गर्न सक्ने क्षमता भए पनि बजारसम्म पुर्याउने प्रसारण लाइनको अभावमा लमजुङका पाँच जलविद्युत् आयोजनाहरूले आम्दानी गुमाइरहेका छन्। आयोजनागत रूपमा गरिएको अनुमान जोड्दा यस्तो नोक्सानी वार्षिक करिब दुई अर्ब १५ करोड रुपैयाँ पुग्छ।
दोर्दीखोला करिडोरका चार र ङादी खोला करिडोरको एक गरी पाँच जलविद्युत् आयोजना निर्माण सम्पन्न भई व्यावसायिक उत्पादनमा आइसकेका छन्। तर, हाल उपलब्ध १३२ केभी प्रसारण लाइनको सीमित क्षमताका कारण ती आयोजनाबाट उत्पादन गर्न सकिने सबै विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।
यसबाट सबैभन्दा ठूलो असर ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनामा परेको छ। आयोजनाले तीन वर्षअघि नै व्यावसायिक उत्पादन सुरु गरेको थियो। वैशाख २०७८ पहिलो साता आएको बाढीले आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्याएको थियो। त्यसपछि पुनः सञ्चालनमा आए पनि प्रसारण लाइन अभावका कारण आयोजना पूर्ण क्षमतामा चल्न सकेको छैन।
आयोजनाका प्रमुख केशव रायमाझीका अनुसार हाल हिउँद र वर्षा याममा समेत गरी करिब २७ मेगावाट विद्युत् मात्र १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्न सकिएको छ। क्षमताअनुसार विद्युत् आपूर्ति गर्न नसक्दा आयोजनाले वार्षिक ८० करोड रुपैयाँ जति घाटा बेहोर्दै आएको उनले बताए।
यस्तै, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यावसायिक उत्पादन सुरु गरेको तीन वर्षभन्दा बढी भइसकेको छ। तर, प्रसारण लाइनको सीमित क्षमताका कारण १० मेगावाट विद्युत् मात्र प्रणालीमा जोड्न सकिएको छ। आयोजनाका प्रमुख राजेन्द्र वस्तीका अनुसार यसबाट आयोजनाले वार्षिक ३० करोड रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको छ।
ङादी खोला करिडोरमा चार वर्षअघि व्यावसायिक उत्पादन सुरु गरेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले पनि वार्षिक ३५ करोड रुपैयाँ जति घाटा बेहोर्दै आएको छ। आयोजनाका प्रमुख उत्तम अमात्यका अनुसार प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन तथा बिक्री गर्न सकेको छैन।
२७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाले वार्षिक ४० करोड रुपैयाँ हाराहारी घाटा बेहोर्दै आएको जनाएको छ। आयोजनाका प्रवर्द्धक गुरुप्रसाद ढकालका अनुसार उत्पादन क्षमता भए पनि प्रसारण लाइनमा पूर्ण क्षमताको विद्युत् जोड्न नसक्दा आर्थिक नोक्सानी भइरहेको छ।
१२ मेगावाट क्षमताको दोर्दी-१ जलविद्युत् आयोजनाको अवस्था पनि उस्तै छ। आयोजनाका प्रमुख उत्तम लामाका अनुसार उत्पादन भएको विद्युत्को करिब ३० प्रतिशत मात्र १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्न सकिएको छ। बाँकी ऊर्जा खेर गइरहेको छ। पूर्ण क्षमतामा विद्युत् बिक्री गर्न नपाउँदा आयोजनाले वार्षिक ३० करोड रुपैयाँ जति घाटा बेहोर्दै आएको उनले बताए।
ङादी खोला करिडोरमा चार वर्षअघि व्यावसायिक उत्पादन सुरु गरेको ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले पनि वार्षिक ३५ करोड रुपैयाँ जति घाटा बेहोर्दै आएको छ। आयोजनाका प्रमुख उत्तम अमात्यका अनुसार प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदा आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन तथा बिक्री गर्न सकेको छैन।
प्रसारण लाइन निर्माणको ढिलाइले सञ्चालनमा आइसकेका आयोजनालाई मात्र होइन, निर्माणको अन्तिम चरणमा पुगेका आयोजनालाई पनि चिन्तित बनाएको छ। ङादी खोलामा निर्माणाधीन ४० मेगावाट क्षमताको सुपर न्यादी र खुदीखोलामा निर्माणाधीन २१ मेगावाट क्षमताको अपर खुदी जलविद्युत् आयोजना अन्तिम चरणमा छन्। तर, प्रसारण लाइन समयमै नबने यी आयोजनाले पनि उत्पादनपछि विद्युत् बिक्रीमा उस्तै समस्या भोग्नुपर्ने जोखिम छ।
किन बनेन प्रसारण लाइन?
मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङको घेलान्चोकदेखि लमजुङ हुँदै चितवनको भरतपुरसम्म २२० केभी प्रसारण लाइन निर्माणका लागि जुन २०२० मा १६ अर्ब रुपैयाँ जतिको ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजना सन् २०२२ भित्र सम्पन्न हुनुपर्ने थियो। तर, ६ वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।
मनाङदेखि चितवनसम्मको ११२ किलोमिटर प्रसारण लाइनमा ३२० वटा टावर रहनेछन्। प्रसारण लाइन निर्माणका लागि दुई चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो भने सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भएको हो। सम्झौताअनुसार काम हुन नसकेपछि पाँच पटकसम्म म्याद थप गरिएको छ। पछिल्लो लक्ष्यअनुसार आयोजना २०२७ जनवरीसम्म सम्पन्न गर्नुपर्नेछ।
आयोजनाका प्रमुख नारायण रेग्मीका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म अधिकांश टावर निर्माण सम्पन्न भइसकेका छन्। हाल तार टाँग्ने काम भइरहेको छ। तर, लमजुङ क्षेत्रका केही स्थानमा स्थानीय अवरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
स्थानीयका मागबारे बुझ्दै वार्ता भइरहेको र समस्या समाधान भएपछि काम तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको रेग्मी बताउँछन्।
आयोजनाले लमजुङको उदिपुर र टारीकुनामा सबस्टेसन निर्माण सम्पन्न भइसकेको जनाएको छ। मनाङको घेलान्चोकस्थित सबस्टेसन निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ।