राजनीति
दुवै महामन्त्रीलाई कारबाही गर्न संस्थापन पक्षको प्रस्ताव
नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले २७ पुसभित्रै विशेष महाधिवेशन बोलाउने तयारी थालेपछि त्यसलाई जसरी भए पनि रोक्न संस्थापन पक्ष लागेको छ।
यही सन्दर्भमा शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्यो। महामन्त्रीद्वयले विशेष महाधिवेशनको तयारी गरिरहेकै बेला बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले २८-३१ वैशाख २०८३ मा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे। २१ फागुनको आसन्न निर्वाचनपछि महाधिवेशन गर्ने प्रस्तावलाई केन्द्रीय कार्यसम्पादन समितिले पारितसमेत गर्यो।
यसका साथै सभापति शेरबहादुर देउवाको कार्यकाल जेठ मसान्तसम्म रहने प्रस्तावसमेत समितिले सर्वसम्मतिले पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
कार्यसम्पादन समितिको निर्णय नमानेका महामन्त्रीद्वय भने विशेष महाधिवेशनकै अडानमा यथावत् छन्।
रोक्ने रणनीतिमा देउवा
१५ पुसमा आफ्नो निवासमा भएको बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नहुने भन्दै नियमित महाधिवेशनसमेत चुनावपछि मात्रै गर्नुपर्ने धारणा राखेका थिए। चुनावअघि नै नियमित महाधिवेशन गर्ने अवस्थामा पनि आफू बाधक नबन्ने उनले बताएका थिए। तर, चुनावअघि तयारी नपुग्ने भन्दै कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव गरे।
विशेष महाधिवेशनले पार्टी फुट्न सक्ने भन्दै १८ पुस बिहान आफ्नो निवास आएका नियमित महाधिवेशन पक्षधर २५ केन्द्रीय सदस्यलाई देउवाले जसरी भए पनि फुटलाई रोक्ने वचन दिएका थिए। सभापति देउवा पार्टी विभाजन हुन सक्ने भन्दै निकै गम्भीर देखिएको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन्।
विशेष महाधिवेशनका लागि पार्टीमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइसकेका महामन्त्रीद्वयले भने विशेष महाधिवेशनकै लागि भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिसकेका छन्। महामन्त्रीद्वयको यस्तो कदमपछि देउवाले बिहीबार साँझ ५ बजे गगन-विश्वप्रकाश दुवैलाई छलफलमा बोलाएका थिए। तर, दुवै महामन्त्रीले त्यसलाई अस्वीकार गरेको देउवानिकट स्रोतले बतायो। “गगनजी महाधिवेशनको दस्ताबेज तयार गर्न भन्दै धुलिखेल गएको कुरा आयो, विश्वप्रकाश शर्मा सम्पर्कमा आउनुभएन,” उक्त स्रोतले भन्यो।
दुवै महामन्त्री सम्पर्कमा नआएपछि देउवाले उपसभापति खड्कालाई तुरुन्त कार्यसम्पादन समितिको बैठक बोलाउन निर्देशन दिएका थिए।
संस्थापन पक्ष पार्टी निर्णयविपरीत महामन्त्रीद्वयले विशेष महाधिवेशनको भेला बोलाए कारबाही गर्नेसम्मको तयारीमा पुगेको छ। स्रोतका अनुसार शुक्रबार देउवा निवासमा पार्टी सहमहामन्त्री महेन्द्र रायले समानान्तर गतिविधि गरे दुवै महामन्त्रीलाई पार्टीबाट निष्कासन गर्नुपर्ने प्रस्ताव गरेका थिए। विशेष भेलाले पार्टी विभाजन टार्न नसक्ने भएकाले त्यसअघि नै दुवै महामन्त्रीलाई कारबाही गर्नुपर्ने प्रस्ताव रायले गरेका थिए।
देउवाले भने सकेसम्म विशेष महाधिवेशनका लागि भनिएको भेला रोक्ने बताएका थिए।
टाढिँदै महामन्त्री
आफ्नै समूहमा रहेर १४औँ महाधिवेशनमा महामन्त्री जितेका थापाले विशेष महाधिवेशनको हलसमेत बुक गर्न लागेको जानकारी बिहीबार बिहानै वरिष्ठ नेता शेखर कोइरालाले पाएका थिए। थापाको तयारी बुझेपछि उनले दिउँसो २ बजे सभापति देउवालाई भेटेका थिए। त्यहाँ अर्का नेता कृष्णप्रसाद सिटौलासमेत थिए।
त्यसपछि दिउँसो ३ बजे कोइराला कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास पुगेका थिए। कोइरालाका साथमा नेता मीनेन्द्र रिजाल पनि थिए। त्यहाँ नेता रमेश लेखकसमेत आइपुगे। कोइरालाले भेला रोकेर पार्टी विभाजन हुन नदिन उपयुक्त बाटो रोज्नुपर्ने बताएका थिए।
यसबीच कोइरालाले गगन-विश्वप्रकाशलाई फोनसमेत गरेका थिए। तर, दुवै सम्पर्कमा आएनन्। “गगन-विश्वप्रकाशलाई धेरैपटक फोन गरे पनि उहाँहरूले उठाउनुभएन,” कोइरालानिकट स्रोतले भन्यो, “पार्टीले कार्यसम्पादन समिति बैठक बोलाएपछि महामन्त्रीजीहरू केही सकारात्मक देखिए पनि वैशाखमा महाधिवेशन गर्ने प्रस्तावपछि उहाँहरू थप रुष्ट बन्नुभएको छ।”
शुक्रबार कार्यसम्पादन समिति बैठकमा भने दुवै महामन्त्री उपस्थित थिए। “विधानअनुसार कार्यक्रम लिएर जाँदा पार्टी एकढिक्का हुन्छ, विभाजन हुँदैन,” शर्माले पत्रकारहरूसँग भने।
चौधौँ महाधिवेशनमा सभापतिमा ४० प्रतिशत मत ल्याएका कोइराला बैठकमा भने विशेष र नियमित दुवै महाधिवेशनप्रति सकारात्मक देखिएका थिए। उनले विशेष महाधिवेशन पार्टी पदाधिकारीले नभएर केन्द्रीय कार्यसमितिले बोलाउनुपर्ने बताएका छन्। “पदाधिकारीले महाधिवेशन बोलाउने होइन, विधानत: पार्टी केन्द्रीय समितिले बोलाउनुपर्छ, त्यहीँबाट निर्णय लिनुपर्छ,” कोइरालाले नेपालन्युजसँग भने।
२९ असोजमा ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाउँदा कोइराला सकारात्मक देखिएका थिए। तर, उनले ती प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयले सनाखत गर्नुपर्ने बताएका थिए। “प्रतिनिधिको हस्ताक्षर आयो, तर त्यसको सनाखत गरेर जाऔँ भनेर उहाँले प्रस्ताव गर्नुभयो,” कोइरालानिकट स्रोत भन्छ, “तर, महामन्त्रीजीहरू सनाखतको पक्षमा रहनुभएन।”
पछिल्लो समय कोइराला भने नियमित महाधिवेशनको पक्षमा थिए। उनले २६ पुसमा आह्वान गरिएको महाधिवेशन टरिसकेकाले विशेष वा नियमित भन्ने कुरा कार्यसम्पादन समितिले टुंगो लगाउनुपर्ने बताएका थिए।
गगन-विश्वप्रकाशको रणनीति
विशेष महाधिवेशन हुँदा पार्टी विभाजन हुन सक्नेतर्फ दुवै महामन्त्री सचेत देखिएका छन्। तर, उनीहरूको रणनीति त्यतैतर्फ केन्द्रित रहेको नेताहरू बताउँछन्। बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राख्दाराख्दै केन्द्रीय कार्यसम्पादनबाट बहुमतले पारित गरिएको बताए। उनले फरक प्रस्ताव राख्दाराख्दै पारित गरिए पनि आफूहरूले केही दिनको समय भने दिने बताए।
थापाले पार्टी विधानको धारा १७ को २ ले महाधिवेशनका ४० प्रतिशतका सदस्यहरूले कारण खुलाई तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउन सक्ने भनेको र यो कसैको रोजाइको कुरा नभएको बताए। “यो धारा प्रयोग गरेर बुझाएको ९० दिनको अन्तिम समय हो। हामी चुप लागेर बस्दैनौँ। एकदुई दिनको समय छ। सभापति, कार्यवाहक सभापति नेताहरूले विधान पालना गर्नुहोस्,” थापाले भने, “गर्नुभएन भने हामी विधान पालना गरेर अघि बढ्छौँ। महामन्त्रीको अधिकार प्रयोग गरी विशेष महाधिवेशन बोलाइन्छ।” थापाले महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ आउने तयारी थाल्न आह्वानसमेत गरे।
“विशेष महाधिवेशन पुसमै हुनुपर्ने एजेन्डामा महामन्त्री दायाँ-बायाँ हुनुहुन्न, अहिले नियमित महाधिवेशन गर्ने योजनामा नेतृत्व छैन, महाधिवेशन २०८४ जेठमा पुर्याउने खेल चलिरहेको छ,” गगननिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने, “यसलाई स्वीकार गर्न सकिँदैन, विश्वास गर्ने आधार पनि छैन।”
महामन्त्री थापा र शर्मासँग फर्मुल्लाह मन्सुर, प्रदीप पौडेल, गुरुराज घिमिरे, राजन केसी, मोहन आचार्य, मधु आचार्य, प्रतिभा गौतम, अजयबाबु शिवाकोटी, आंगेलु शेर्पा, प्रकाश स्नेही, भरतबहादुर शाह र अमर पुन खुलेका छन्। दुवै महामन्त्रीले यसअघि नै वर्तमान पार्टी नेतृत्व कायम रहे निर्वाचनमा सहभागी नहुने घोषणा गरिसकेका छन्।