किमाथाङ्का । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताएको हो ।
उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो । संयोजक दाहालले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पारे ।
जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताए । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ”, उनले भने ।
सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याए ।