कैलाली। कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।
कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उनले जानकारी दिए ।
कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।
“फर्र्किएकामध्ये धेरैजसो आफैँ सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो”, उनले भने, “कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी जारी राखेको छ ।”