काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिका ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा सहभागी हुन निमन्त्रणा नदिएको स्पष्ट पारेको छ।
मन्त्री गुप्ताको अमेरिका भ्रमणसम्बन्धी समाचार सार्वजनिक भइरहेका बेला परिषद्का प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा एनआरएनए अमेरिकाको तर्फबाट कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तासँग सम्बन्धित कुनै आधिकारिक कार्यक्रम नरहेको जनाइएको छ।
विज्ञप्तिमा एनआरएनए अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा बोलाइएको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराइएको उल्लेख छ। साथै परिषद्को आयोजनामा कुनै युवासम्बन्धी कार्यक्रम तय नभएको पनि दोहोर्याइएको छ।
प्रवक्ता उप्रेतीका अनुसार परिषद् कुनै पनि अनधिकृत कार्यक्रम, कथित युवा कार्यक्रम वा त्यस्ता गतिविधिसँग न त संलग्न छ, न त स्वीकृति वा समर्थन नै दिएको छ। परिषद्को आधिकारिक अनुमति बिना आयोजना गरिने कार्यक्रम, भ्रमण वा फन्डराइजिङ गतिविधि गैरकानुनी र अमान्य हुने विज्ञप्तिमा उल्लेख छ।
एनआरएनए अमेरिकाको नाम, पहिचान वा संरचनाको दुरुपयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि परिषद्ले दिएको छ।
विज्ञप्तिमा यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिको गम्भीरतालाई ध्यानमा राख्दै यससम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने उल्लेख गरिएको छ।
एनआरएनए अमेरिकाले संस्थाको नाम प्रयोग गरी फैलाइने भ्रामक सूचनाप्रति सतर्क रहन सबैलाई आग्रहसमेत गरेको छ।