काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
अ+
अ-

काठमाडौँ। हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ। जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० खेलाडी सहभागी छन्।

एकेडेमीको काठमाडौँ महानगर ११ स्थित थापाथालीमा रहेको चेस हलमा आयोजित प्रतियोगिताको पहिलो दिन शीर्ष वरीयताका अभिक शाहले अनरेटेड सूर्यप्रताप सिंह कार्कीलाई पराजित गर्दै १ अंक जोडे। सजल न्यौपाने‚ हार्दिक पन्त‚ लियोन महर्जन‚ अनमोल राई‚ निहाना श्रेष्ठ‚ शुभांग प्रधान‚ अरिज राई‚ आशीर्वाद थापा‚ अभिक रेग्मी‚ प्रवीर केसी‚ विराज सरिया‚ सात्विकमान तुलाधर‚ उजिभानी कँडेल र रोहित श्रेष्ठले पनि जित हात पारे।

एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले काठमाडौँ जिल्ला चेस संघसँग सहकार्य गर्दै १८ वर्षमुनिका खेलाडीका लागि क्लासिकल चेसको प्रतियोगिता आयोजना गरेको हो। स्विस प्रणालीको आधारमा नौ चरणको प्रतियोगिता नौ दिन चल्नेछ। जसमा प्रत्येक खेलमा खेलाडीलाई ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ।

हिमालयन च्यालेन्जर्समा २४ पुरुष र ६ महिला खेलाडी सहभागी छन्। खेलाडीको औसत उमेर १३ वर्ष छ। रेटेड खेलाडी १४ जना छन्। अनरेटेडको संख्या १६ छ। औसत फिडे रेटिङ १४६८ छ। १९१८ रेटेड अभिक शीर्ष वरीयताका खेलाडी हुन्।

अचेल छोटो अवधिका र्यापिड र ब्लिज चल्तीमा रहे पनि खेलाडीका स्तरोन्नतिका लागि क्लासिकल चेस उपयुक्त मानिन्छ। त्यसैले दुर्लभ हुँदै गएको क्लासिकल चेसको प्रतियोगिता युवा खेलाडीलाई अवसर दिन आयोजना गरिएको एकेडेमी संस्थापक मोनालिसा खम्बू बताउँछिन्। दैनिक एक राउन्डको खेल हुनेछ। पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीबाट प्रत्येक राउन्डको समाप्तिपछि खेलको विश्लेषण गर्ने व्यवस्था गरिएको छ।

हिमालयन चेस एकेडेमीले एसईई कप‚ हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स‚ हिमालयन तीज चेस टोर्नी‚ प्यट्रिओटिक पन च्याम्पियनसिप‚ हिमालयन डुओ‚ हिमालयन ब्लिज कप‚ देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप‚ हिमालयन १०० एक्स टु‚ हिमालयन क्विन्स ग्याम्बिट र एचसीए युथ कप गरी दश प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ। त्यसैले उसको ११औँ प्रतियोगिता हो- हिमालयन च्यालेन्जर्स क्लासिकल चेस।