काठमाडौँ। राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको घोषणा गरिएको हो। प्रतियोगिता १ देखि २८ माघसम्म काठमाडौँको सिफल ग्राउन्डमा सञ्चालन हुने आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीले जनाएको छ।
आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीका अध्यक्ष सुनीलमान अमात्यले नेपाललाई भविष्यमा टेस्ट राष्ट्र बनाउने लक्ष्यका साथ यस्ता उमेर समूहका प्रतियोगिता आयोजना गरिएको बताए।
प्रतियोगितामा उपत्यकाबाहिरका आठसहित २७ टिमको सहभागिता रहनेछ। जिल्ला स्तरका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ।