काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक बहस र सक्रियतालाई युवा अभियन्ता भावना राउतले सकारात्मक परिवर्तनको संकेतका रूपमा व्याख्या गरेकी छन् । उनले यो प्रक्रियालाई कुनै गुटगत द्वन्द्व वा असन्तोषको रूपमा होइन, दलभित्रको लोकतान्त्रिक अभ्यास सुदृढ हुँदै गएको उदाहरणका रूपमा लिनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राउतले विशेष महाधिवेशनको बहसले पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएको उल्लेख गरेकी छन् । उनका अनुसार नेतृत्वप्रति प्रश्न उठ्नु वा फरक मत राखिनु पार्टी कमजोर हुनुको संकेत होइन, बरु जिम्मेवार र उत्तरदायी बन्ने प्रक्रियाको हिस्सा हो । उनले कांग्रेसभित्र देखिएको यो गतिविधिलाई ‘विद्रोह’ भनेर व्याख्या गर्नु गलत हुने धारणा राख्दै यसलाई आन्तरिक जवाफदेहिता र लोकतान्त्रिक संस्कारको अभ्यास भनेकी छन् । “नेतृत्वलाई प्रश्न गर्न पाउनु, असहमति राख्न सक्नु र विचारको प्रतिस्पर्धा हुनु नै लोकतान्त्रिक दलको पहिचान हो,” उनले लेखेकी छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको वैचारिक बहसप्रति समर्थन जनाउँदै राउतले लोकतन्त्र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्नेमा जोड दिएकी छन् ।

पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो भए मात्र त्यसको प्रभाव देशको समग्र राजनीतिक प्रणालीमा पर्ने उनको भनाइ छ । उनका अनुसार नेपाली कांग्रेस जस्तो लामो इतिहास बोकेको दलले आफ्नै संरचनाभित्र लोकतन्त्रको अभ्यास गर्न नसक्दा त्यसको नकारात्मक असर राष्ट्रिय राजनीतिमा पर्न सक्छ । नेतृत्वले आलोचनात्मक आवाजलाई दबाउने प्रयास गर्दा परिवर्तनको माग अझ सशक्त बन्ने चेतावनीसमेत उनले दिएकी छन् ।

हालै देखिएको घटनाक्रमलाई अन्तिम उपलब्धिका रूपमा लिन नमिल्ने भए पनि यसले आशाको संकेत दिएको राउतको निष्कर्ष छ । पार्टीभित्रै रहेर नेतृत्वलाई प्रश्न गर्ने साहसले नेपाली राजनीतिमा नयाँ र सकारात्मक राजनीतिक संस्कार विकास हुने विश्वास उनले व्यक्त गरेकी छन् ।