काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्द सत्रमा सहभागी हुने चर्चा निराधार रहेको उनको सचिवालयले जनाएको छ।
सोमबार भृकुटीमण्डपमा आयोजना हुने बन्द सत्रमा देउवा सहभागी हुने भन्ने सूचना सामाजिक सञ्जालमार्फत फैलिएको भन्दै सचिवालयले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको हो।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले केही व्यक्तिहरूले भ्रम सिर्जना गर्ने उद्देश्यले गलत सूचना सार्वजनिक गरेको बताए। उनका अनुसार सभापति देउवाको आज भृकुटीमण्डप जाने कुनै पनि पूर्वनिर्धारित कार्यक्रम छैन।
सचिवालयले जारी गरेको स्पष्टिकरणमा सामाजिक सञ्जालमा फैलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको दोहोर्याएको छ।