काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

१ माघ २०८२
अ+
अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघी तथा मकर सङ्क्रान्तिले नेपाली समाजमा एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने बताएका छन्।

माघी तथा मकर सङ्क्रान्तिको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हुनु नै राष्ट्रिय पहिचान र शक्ति भएको उल्लेख गरे। थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने माघी र मगर, छन्त्यालसहित विभिन्न समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा उनले देश–विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन्।

प्रचण्डले प्रकृति र संस्कृतिको अन्तरसम्बन्ध उल्लेख गर्दै उत्तरायण सुरु भएसँगै दिन लम्बिँदै उज्यालो बढेझैँ राष्ट्रिय जीवनबाट पनि निराशा र अन्धकार हटेर आशा र समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरे।

यस पर्वको सांस्कृतिक महत्वबारे चर्चा गर्दै उनले परिवारसँग भेला भएर घिउ, चाकु, तरकारी र खिचडी खाने परम्पराले पारिवारिक सम्बन्ध सुदृढ गर्नुका साथै सामाजिक एकतालाई बलियो बनाउने बताए। साथै, राजनीतिक उपलब्धिको संरक्षण, संविधानको पूर्ण कार्यान्वयन र सुशासनसहित समृद्ध नेपाल निर्माणका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार माघी तथा मकर सङ्क्रान्तिले राष्ट्रिय दायित्व पूरा गर्ने दिशामा अघि बढ्न सबैलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्नेछ।