काठमाडौँ
००:००:००
२ माघ २०८२, शुक्रबार

शिक्षा

हरेक बालबालिका छुट्टै ब्रह्माण्ड हुन्। कोही शब्दसँग खेल्न रुचाउँछन्, कोही संख्यासँग त कोही मौनता र प्रकृतिसँग। गुलाबको बोटबाट स्याउ फलेन भनेर गुनासो गर्न थाल्यौँ भने दोष गुलाबको होइन, हाम्रो अपेक्षाको हो।

अ+
अ-

शिक्षकले कक्षाकोठामा सात वर्षीय सुरेशलाई ‘चराको चित्र बनाऊ’ भन्नुभयो। उनले चराको साटो अनौठो मेसिनको चित्र बनाए, जसमा पांग्राहरू पनि थिए। शिक्षकले चित्र हेर्दै भन्नुभयो, ‘सुरेश, तिमीले यो के बनायौ? यो त चरा होइन।’ सुरेश मुस्कुराउँदै भन्छन्, ‘सर, यो चरा नै हो, यसले अचेल हिँड्न बिर्सेको हुनाले पांग्रा चाहिएको छ।’

राम्रो कविता वाचन गर्ने वा हिसाब छिटो मिलाउनेलाई मात्र जेहेनदार भनिने भाष्यले अन्य प्रतिभा भएका बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर पारिरहेको हुन सक्छ।

हाम्रो शिक्षा प्रणाली र समाजमा सुरेशजस्ता हजारौँ बालबालिका छन्, जसको ‘बुद्धिमत्ता’ या ‘प्रतिभा’ हाम्रो परम्परागत परिभाषामा अटाउँदैन। हामीले वर्षौंदेखि बुद्धिलाई केवल विद्यालयको लब्धांकपत्र र गणितका सूत्रहरूमा सीमित गरिदिएका छौँ। प्रख्यात मनोवैज्ञानिक हावर्ड गार्डनर भन्छन्, ‘बुद्धि एउटा मात्र हुँदैन, यो त इन्द्रेणीका रंगहरूजस्तै विभिन्न प्रकारको हुन्छ।’ यो लेख त्यही ‘बहुप्रतिभा (मल्टिपल इन्टेलिजेन्स-एमआई)’ मा केन्द्रित छ, जुन बच्चाको सानो कोठामा गुम्सिएर बसेको हुन सक्छ।

कक्षाकोठाको अन्तिम बेन्चमा बसेर पानाभरि अनौठा ‘एब्स्ट्र्याक्ट’ चित्र र रंगहरूको अनौठो मिश्रणसहितका आकृति बनाइरहेको एउटा बालकलाई अक्सर हाम्रो समाजले ‘पढ्नमा मन नभएको’, ‘लद्दु’, ‘बुद्धु’ जस्ता थरीथरी संज्ञा दिन्छ। शिक्षकले ब्ल्याकबोर्डमा लेखेका गणितका जटिल सूत्र केही गरे पनि छिचोल्न नसक्ने त्यही बालक जब फुटबल मैदानमा उत्रिन्छ, उसको खुट्टाको चाल र बलको सन्तुलन बुझ्ने क्षमता कुनै भौतिकशास्त्रीको झैँ लाग्छ।

वास्तवमा, समस्या बालबालिकाको दिमागमा होइन, हाम्रो त्यो ‘तराजु’ मा छ, जसले माछालाई रुख चढ्ने परीक्षा लिइरहेको छ। आजको सबैभन्दा ठूलो चुनौती नै बालबालिकालाई उनीहरूको आफ्नै आकाशमा उड्न सिकाउने कि हामीले बनाइदिएको पिँजडामा कैद गर्ने भन्ने देखिएको छ।

बुद्धिमत्ता वा इन्टेलिजेन्सको परम्परागत परिभाषालाई चुनौती दिँदै सन् १९८३ मा उनै प्राध्यापक गार्डनरले ‘फ्रेम्स अफ माइन्ड’ मार्फत ‘मल्टिपल इन्टेलिजेन्स’ सिद्धान्त अघि सारेका थिए। उनका अनुसार बुद्धिमत्ता एकपक्षीय एकाइ नभई क्षमताहरूको समग्र रूप हो। उनले मानिसमा कम्तीमा आठ प्रकारका बुद्धिमत्ता हुने तर्क गरेका छन्। जब हामी बालबालिकालाई विद्यालयको ‘ग्रेड सिट’ वा इन्टेलिजेन्ट क्वेसन्ट (आईक्यू) स्कोरको आधारमा मात्र मूल्यांकन गर्छौं भने हामी उनीहरूको मस्तिष्कको ठूलो सम्भावनालाई बेवास्ता गरिरहेका हुन्छौँ। गार्डनरको यस सिद्धान्तले के स्पष्ट पार्छ भने, शब्दहरूसँग खेल्न नजान्ने बच्चा प्रकृतिसँगको सामीप्य वा शारीरिक चालमा उत्कृष्ट हुन सक्छ। यो विविधता बुझ्नु नै आधुनिक बालविकास र शिक्षाको पहिलो खुड्किलो हो।

हाम्रो समाजमा पढ्नु भन्नाले अझै पनि भाषिक र तार्किक क्षमतालाई मात्र बुझिन्छ। राम्रो कविता वाचन गर्ने वा हिसाब छिटो मिलाउनेलाई मात्र जेहेनदार भनिने भाष्यले अन्य प्रतिभा भएका बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर पारिरहेको हुन सक्छ। उदाहरणका लागि, दृश्यमा सोच्न सक्ने बुद्धिमत्ता (भिजुअल स्पेसल इन्टेलिजेन्स) उच्च भएका बालबालिकाले संसारलाई विभिन्न रंग र आकारमा देख्छन्। यो प्रतिभा भएकाहरूले दिमागमा भिडिओ वा फोटो चलाउँछन्।

यी बालबालिकाहरू कुनै पनि कुरालाई शब्दमा भन्दा दृश्यमा छिटो बुझ्छन्। उनीहरूलाई नक्सा बुझ्न सजिलो हुन्छ, एकपटक गएको बाटो कहिल्यै बिर्सिंदैनन्। दिमागमै जटिल दृश्यसहितका मोडेलहरू बनाउन सक्छन्। यस्ता बालबालिका भविष्यमा उत्कृष्ट आर्किटेक्ट, डिजाइनर वा एनिमेटर बन्ने क्षमता राख्छन्। तर, उनीहरूमा निहित यस्तो विशिष्ट क्षमतालाई चित्रकलाको अतिरिक्त क्रियाकलापमा मात्र सीमित गरिन्छ, जुन मुख्य पाठ्यक्रमको हिस्सा कहिल्यै बन्दैन।

त्यस्तै, शारीरिक गतिक बुद्धिमत्ता (बडिली काइनेस्थेटिक इन्टेलिजेन्स) भएका बालबालिका एक ठाउँमा स्थिर भएर बस्न सक्दैनन्। उनीहरूलाई दौडन, नाच्न, खेल्न वा आफ्नै हातले केही सामान वा खेल सामग्री बनाउन मन पर्छ। परम्परागत कक्षाकोठामा यस्ता बालबालिकालाई अति चञ्चल वा अनुशासनहीन भनिन्छ। तर, विज्ञानका दृष्टिकोणमा यस्ता बालबालिकाको मस्तिष्क र शरीरबीचको समन्वय अत्यन्तै तीव्र हुन्छ। सही मार्गदर्शन पाए उनीहरू कुशल शल्यचिकित्सक, खेलाडी वा शिल्पकार बन्न सक्छन्। उनीहरूको सिकाइ आँखा, कानले मात्र होइन, हात र शरीरको चालमार्फत पनि हुन्छ।

नेपालका केही निश्चित जिल्लालाई ‘सरकारी जागिरे बाहुल्य जिल्ला’ वा ‘सरकारी जागिरेको कारखाना’ आदि भनेर चिनिने रोचक तर विडम्बनापूर्ण भाष्य स्थापित छ। सरकारी जागिर बिल्कुलै नराम्रो होइन, तर यहाँनेर प्रश्न उठ्छ, के ती जिल्लामा जन्मिने हरेक बच्चाको मस्तिष्क प्रशासन र निजामती सेवाका लागि मात्र ‘प्रोग्राम’ गरिएको हुन्छ त?

डानियल गोलम्यानले इमोसनल इन्टेलिजेन्स पुस्तकमा तर्क गरेझैँ जीवनमा सफलता पाउन आईक्यूभन्दा ईक्यू (इमोसनल क्वेसन्ट)को भूमिका धेरै ठूलो हुन्छ। एउटा बच्चा जो अरूको भावना सहजै बुझ्छ र लक्ष्यमा प्रस्ट हुन्छ, उसले जुनसुकै क्षेत्रमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ। यस्ता बालबालिकाका अन्य स्वभावमा संगीतप्रति लगाव, प्रकृतिसँग घुलमिल हुन खोज्ने, अन्तर्मुखी, सम्बन्ध विस्तारको खुबीलगायत हुन्छन्। यस्ता क्षमतालाई समयमै चिनेर मलजल गर्ने हो भने भविष्यमा राम्रो पेसामा आबद्ध हुने र प्रगति गर्न सक्ने सम्भावना उच्च हुन्छ।

कसको के भूमिका?

बालबालिकाको विशिष्ट क्षमता पहिचान कुनै आकस्मिक घटना होइन, निरन्तर प्रक्रिया हो। मनोवैज्ञानिकहरूका अनुसार जन्मेदेखि आठ वर्षसम्मको प्रारम्भिक बाल्यावस्थाको उमेर मस्तिष्क विकास र आफ्नो रुचि पहिचानका लागि ‘सुनौलो ढोका’ हो। यही अवधिमा बालबालिकाले संसारलाई कसरी ग्रहण गर्छन् र कुन कुरामा बढी प्रतिक्रिया दिन्छन् भन्ने स्पष्ट संकेत देखिन थाल्छन्। तर, हाम्रो सामाजिक संरचना र विद्यालय अभ्यासले यस पहिचानलाई सहयोग गर्नुको साटो निरुत्साहित गरिरहेको छ।

नेपालका धेरै विद्यालयमा अझै पनि ‘सेक्सन’ वर्गीकरणको घातक अभ्यास छ। ‘ए’ सेक्सनमा सबैभन्दा बढी अंक ल्याउनेहरूलाई राखिन्छ र उनीहरूलाई थप अंककै लागि प्रतिस्पर्धा गराइन्छ। यो समान प्रकृति (होमोजिनियस)का बालबालिकालाई एकै ठाउँमा राखेर गरिने शिक्षण विधिले विविधताको हत्या गर्छ।

यस वर्गीकरणले ती बालबालिकाको बहुबौद्धिकतालाई खुम्च्याइदिन्छ। तार्किक क्षमता भएको बच्चालाई कलात्मक क्षमता भएको साथीबाट अलग, अझ अर्कै कोठामा राख्दा उनीहरूबीच हुने आपसी सिकाइ (क्रस-लर्निङ)को अवसर समाप्त हुन्छ। खासमा विद्यालयले बालबालिकालाई अंकका आधारमा होइन, उनीहरूको रुचि र खुबीअनुसारका ‘क्लब’ वा ‘एक्टिभिटी सर्कल’ हरूमा वर्गीकरण गर्नुपर्छ, जहाँ उनीहरूले आफ्नो प्राकृतिक क्षमतालाई प्रस्फुटन गराउने संयन्त्र पाउन सकून्।

यस विषयलाई सामाजिक दृष्टिकोणसँग जोडेर हेर्ने हो भने नेपालका केही निश्चित जिल्लालाई ‘सरकारी जागिरे बाहुल्य जिल्ला’ वा ‘सरकारी जागिरेको कारखाना’ आदि भनेर चिनिने रोचक तर विडम्बनापूर्ण भाष्य स्थापित छ। सरकारी जागिर बिल्कुलै नराम्रो होइन, तर यहाँनेर प्रश्न उठ्छ, के ती जिल्लामा जन्मिने हरेक बच्चाको मस्तिष्क प्रशासन र निजामती सेवाका लागि मात्र ‘प्रोग्राम’ गरिएको हुन्छ त?

पक्कै होइन। वास्तवमा हरेक व्यक्ति विशेष र फरक क्षमता लिएर जन्मिएको हुन्छ। तर, त्यहाँको समुदाय र राज्यको लगानीले सिर्जना गरेको ‘इकोसिस्टम’ ले बच्चाको बहुआयामिक सोचलाई सानैदेखि उही साँघुरो सुरुङमा छिर्न बाध्य पारिदिन्छ। जब समुदायले एउटा पेसालाई मात्र सफलताको मानक मान्छ, त्यहाँका कलाकार, खेलाडी, वैज्ञानिक वा संगीतकार बन्न सक्ने व्यक्ति आफ्नो प्रतिभाको घाँटी निमोठेर लोकसेवाका किताब कण्ठ गर्न विवश हुन्छन्। यस्तो सामूहिक मानसिकताले बालबालिकाको मौलिकतालाई आक्रमण गरिरहेको छ।

हरेक बच्चा एउटा छुट्टै ब्रह्माण्ड (युनिभर्स) हो। कोही शब्दसँग खेल्न रुचाउँछन्, कोही संख्यासँग त कोही मौनता र प्रकृतिसँग। गुलाबको बोटबाट स्याउ फलेन भनेर गुनासो गर्न थाल्यौँ भने दोष गुलाबको होइन, हाम्रो अपेक्षाको हो।

यसविरुद्ध राज्य र समुदायको भूमिका अनिवार्य छ। राज्यले ल्याउने शिक्षा नीतिले ‘साक्षरता दर’ बढाउने लक्ष्य मात्र राखेर पुग्दैन; प्रतिभा पहिचान केन्द्रहरूको अवधारणा पनि ल्याउनुपर्छ। स्थानीय तहले समुदायमा आधारित यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ, जहाँ बालबालिकाले विद्यालय समयबाहेक रुचिअनुसारको सीप सिक्न सकून्, अभिभावकले पनि बालबालिकाका लागि त्यस्ता अवसरका ढोका खुला गरिदिऊन्। विद्यालयमा शिक्षकहरूका लागि ‘एमआईमा आधारित शिक्षण विधि’ तालिम प्रदान गरिनुपर्छ, जसले गर्दा उनीहरूले कक्षाकोठामा पाठ पढाउने वा ‘जागिर खाने’ मात्र होइन, प्रत्येक बच्चाको ‘प्रतिभा अन्वेषक’ को भूमिका निर्वाह गर्न सक्नुपर्छ। समुदायको थप भूमिकाका रूपमा समाजका विभिन्न क्षेत्रका सफल व्यक्तिहरूलाई ‘रोल-मोडल’ का रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। यसबाट बालबालिकाले सफलताको बाटो त एउटै होइन, फरक फरक हुने रहेछ भनेर बुझ्न सक्छन्।

अर्कातर्फ, अभिभावकले पनि घरलाई यस्तो प्रयोगशाला बनाउनुपर्छ, जहाँ बालबालिकाले गल्ती गर्दा डराउनु नपरोस्। गल्तीलाई चकचक नभनियोस्।

अहिले श्रम बजार तीव्र रूपमा परिवर्तन भइरहेको छ। कृत्रिम बुद्धिमत्ता (एआई)ले कतिपय तार्किक र गणितीय कामहरू मेसिनबाटै गराउन थालिसकेको छ। यो अवस्था नियाल्दा के देखिन्छ भने, भविष्यमा ती मानिस मात्र सक्षम र सफल हुनेछन्, जसमा मेसिनले गर्न नसक्ने सिर्जनशीलता, समानुभूति र बहुआयामिक तरिकाले सोच्न सक्ने क्षमता हुन्छ। त्यसैले आजको अभिभावकत्वले बालबालिकालाई एउटा निश्चित ‘करियर’ का लागि होइन, आफ्नो बहुप्रतिभा चिन्न र त्यसलाई परिष्कृत गर्न मद्दत गर्नुपर्छ। यसका लागि उपयुक्त वातावरण बनाइदिनुपर्छ। बालबालिकाको इच्छा र चाहना नै उनीहरूको भविष्य सूचक हो। जब बच्चाको रुचि र प्रतिभा मिल्दछ, त्यस्तो सिकाइ उसका लागि बोझ वा बाध्यता नभई उत्सव बन्न पुग्छ।

हामीले बुझ्नुपर्ने के हो भने, हरेक बच्चा एउटा छुट्टै ब्रह्माण्ड (युनिभर्स) हो। कोही शब्दसँग खेल्न रुचाउँछन्, कोही संख्यासँग त कोही मौनता र प्रकृतिसँग। गुलाबको बोटबाट स्याउ फलेन भनेर गुनासो गर्न थाल्यौँ भने दोष गुलाबको होइन, हाम्रो अपेक्षाको हो।

अबको भविष्य केवल ‘किताबी किरा’ हरूको मात्र रहनेछैन। एआई युगमा मानिसलाई मानिस नै बनाइराख्ने तार्किक, संवेगात्मक र सिर्जनशील क्षमताको झन् बढी महत्त्व हुनेछ। त्यसैले आजैदेखि आफ्नो बच्चाको लब्धांकपत्रमा रातो घेरा लगाउनुको साटो उसले कुन कुरामा आँखा चम्काउँछ, त्यो खोज्न सुरु गरौँ। उसलाई खुला क्यानभास त दिइसक्नुभयो, अब आफैँ रंगहरू छान्न र चित्र कोर्न स्वतन्त्र छाडिदिनुहोस्। उनीहरूको अंक र ग्रेडमा मात्र ध्यान दियौँ भने हामीले राम्रो कर्मचारी, चिकित्सक, चार्टर्ड एकाउन्टेन्ट त पाउन सकौँला, तर संसार बदल्न सक्ने सर्जक र नेतृत्व सधैँका लागि गुमाउनेछौँ।