काठमाडौँ। प्रहरीले मोरङ ग्रामथान गाउँपालिका ४ बाट कौडासहित चार जुवाडे पक्राउ गरेको छ।
मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ९ का ५७ वर्षीय जयकिशोर साह‚ भोजपुर हतुवागढी गाउँपालिका ३‚ सिन्द्राङ घर भई धरान बस्दै आएका ५६ वर्षीय हेमन्त राई कटहरी गाउँपालिका १ का ४२ वर्षीय सोनलाल राजवंशी र मोरङ सुन्दरहरैँचा नगरपालिका ५ का ४७ वर्षीय इन्द्र आचार्य छन्।
जुरिखोलाछेउ बाँसझ्याङमा जुवाको खाल बनाएर बसिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले शुक्रबार बेलुका ६ बजे पक्राउ गरेको हो।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार जुवाको खालबाट तीन लाख १३ हजार नगद र १६ थान कौडा बरामद भएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी बेलबारीले हिरासतमा राखेर अनुसन्धान थालेको छ।