राजनीति
फरकधारका नेताहरूलाई छानीछानी निषेध
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले गरेको उम्मेदवार चयनप्रति पार्टीभित्रै तीव्र असन्तुष्टि प्रकट भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पार्टीभित्रका फरकधारका नेताहरूलाई निषेध गरेका छन्। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएको उम्मेदवारको सूची हेर्दा ओलीले ११औँ महाधिवेशनमा आफूभन्दा फरक कित्तामा रहेका नेताहरूलाई छानीछानी प्रतिशोध साँधेको देखिन्छ।
महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलको काठमाडौँ-५ को टिकट होल्ड गरिएको छ। उक्त निर्वाचन क्षेत्रबाट पोखरेलको नाम एकल सिफारिस भएको थियो। पोखरेल २०६४ सालदेखि यही क्षेत्रमा एमालेबाट उम्मेदवार बन्दै आएका थिए।
त्यस्तै, पोखरेल प्यानलबाट उपमहासचिव जितेका योगेश भट्टराईलाई पनि टिकटबाट वञ्चित गरिएको छ। भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ सालमा गरी दुई पटक प्रतिनिधिसभा चुनाव जितेका थिए। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि उनले पार्टीको नेतृत्व परिवर्तन र नीतिमा रूपान्तरणको माग गर्दै आएका छन्। ताप्लेजुङमा एमालेले राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ।
महाधिवेशनमा महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई पनि उम्मेदवारीबाट वञ्चित गरिएको छ। उनी चितवन-१ बाट उम्मेदवार बन्दै आएका थिए।
अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेको भन्दै उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन्। शनिबारको सचिवालय बैठकमै उम्मेदवार छनोटप्रति असहमति प्रकट गरेका उनले आइतबार ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा चारबुँदे ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।
फरक प्यानलबाट पदाधिकारीमा उम्मेदवार भएकाहरूमध्ये उपाध्यक्ष गोकर्ण विष्टले मात्रै टिकट पाएका छन्। उनलाई एमालेले गुल्मी-२ मा उम्मेदवार बनाएको छ।
त्यसैगरी, सचिवमा उम्मेदवार रहेका गोकुल बाँस्कोटाको काभ्रे-२ को टिकट पनि होल्ड गरिएको छ। उनको स्थानमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाउने एमालेको तयारी छ। काभ्रे-१ मा विवादास्पद पृष्ठभूमिका अमित लामालाई उम्मेदवार बनाइएको छ।
सचिवमा उम्मेदवार भएका ठाकुर गैरेको पनि टिकट होल्ड गरिएको छ। २०७९ सालको चुनावमा गैरे निर्वाचित पाल्पा-२ मा शनिबारको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेललाई छनोट गरेको थियो। यद्यपि, पौडेल पुनः आफ्नै निर्वाचन क्षेत्र रुपन्देही-२ बाट चुनावमा उठ्ने भएका छन्।
त्यसैगरी, महाधिवेशनमा फरक प्यानलबाट सचिवको उम्मेदवार बनेका कृष्णगोपाल श्रेष्ठको निर्वाचन क्षेत्रको टिकट पनि होल्ड गरिएको छ। २०७९ सालको चुनावमा काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ९ मा उठेका एमालेका श्रेष्ठ मात्र विजयी भएका थिए।
त्यसैगरी, बाजुराबाट उम्मेदवारमा सिफारिस भए पनि कर्ण थापाको टिकट काटिएको छ। उनको स्थानमा एमालेले लालबहादुर थापालाई उम्मेदवार बनाएको छ। थापा महाधिवेशनमा पोखरेल प्यानलबाट उम्मेदवार बनेका थिए।
यस्तै, सचिवमा उम्मेदवार भएका अग्नि खरेल पनि उम्मेदवार बन्नबाट रोकिएका छन्। २०७९ सालको चुनावमा खरेल झापा-१ बाट उम्मेदवार बनेका थिए। सचिवमै उम्मेदवार बनेका विनोद ढकालको मोरङ-६ मा पनि उम्मेदवारी होल्ड गरिएको छ। ढकाल मोरङका तीन निर्वाचन क्षेत्र १, ४ र ६ बाट उम्मेदवारको सिफारिसमा परेका थिए। मोरङ-१ मा ओलीलाई महाधिवेशनमा सघाउने घनश्याम खतिवडा र क्षेत्र नम्बर ४ मा जीवन घिमिरेलाई उम्मेदवार बनाइएको छ। मोरङ-५ मा पनि एमालेले उम्मेदवार तोकेको छैन।
ओलीले आफूभन्दा फरक मत राख्ने नेताहरूको टिकट काटेको पहिलोपटक भने होइन। दशौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गर्ने भीम रावलको अछाम-१ बाट टिकट खोसिदिएका थिए। त्यस्तै, फरक प्यानलबाट उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घनश्याम भुसाललाई पनि ओलीले उम्मेदवार बन्नबाट वञ्चित गरेका थिए।
योगेशको चारबुँदे फरक मत
अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेको भन्दै उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन्। शनिबारको सचिवालय बैठकमै उम्मेदवार छनोटप्रति असहमति प्रकट गरेका उनले आइतबार ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा चारबुँदे ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

शनिबार बसेको एमाले सचिवालय बैठक। तस्बिर : केपी शर्मा ओलीको सचिवालय
फरक मतमा भट्टराईले टिकट वितरण गरिँदा एकताको सन्देश दिन चुकेको, मापदण्डविना नै उम्मेदवार चयन गरिएको, टिकट वितरणमा महाधिवेशनको पक्षधरता देखाएको, पुरानो क्षेत्र छाडेर नेताहरू सुरक्षित क्षेत्रमा जाँदा सकारात्मक सन्देश नगएको उल्लेख गरेका छन्। ‘प्रतिनिधिसभाको उम्मेदवार (समानुपातिक र प्रत्यक्ष)मा प्रतिस्पर्धाको बेलाको पक्षधरता प्रस्ट रूपमा देखिन्छ। यसले पार्टीको आन्तरिक एकता कमजोर बनाउँछ,’ भट्टराईले नोट अफ डिसेन्टमा लेखेका छन्।
यस्तै, उम्मेदवारी छनोटमा केन्द्रीय सदस्य विष्णु रिजालले पनि असन्तुष्टि जनाएका छन्। दैलेख-२ बाट उम्मेदवार बन्न भएको आन्तरिक प्रतिस्पर्धामा पहिलो नम्बरमा रहेका रिजालको स्थानमा एमालेले लक्ष्मीप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ। रिजालले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेखेर ‘कसैसँग मालपानीका लागि हात नपसार्नु आफ्नो कमजोरी भएको’ भन्दै आक्रोश पोखेका छन्।
होल्ड गरिएका अधिकांश निर्वाचन क्षेत्र जेन-जी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा रहेका नेताहरूको हो। त्यस्तै, विगतको चुनावमा गठबन्धन गरेका क्षेत्रहरू पनि छन्।
उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ। जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए। तर, तेस्रोपटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन।’
एमालेका प्रचार विभाग प्रमुख मीनबहादुर शाही भने तल्ला तहका कमिटीहरूबाट प्राप्त सिफारिसकै आधारमा टिकट बाँडिएको बताउँछन्। “भूगोल तथा तल्लो कमिटीहरूबाट आएका सिफारिसकै आधारमा उम्मेदवारले टिकट पाएका हुन्,” उनी भन्छन्।
१४१ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन
एमालेले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १४१ स्थानको उम्मेदवार टुंग्याएको छ। अन्य २४ स्थानको टिकटको निर्णय होल्ड गरिएको छ।
एमालेले टुंग्याउन बाँकी रहेका निर्वाचन क्षेत्रमा ताप्लेजुङ, झापा ३, मोरङ ५ र ६, महोत्तरी ३, सर्लाही १, २ र ४, पर्सा १ र २ काठमाडौँ ४, ५ र ९, काभ्रे २, दाङ १ र २, रुपन्देही १, २ र ४, कपिलवस्तु २, बाँके २, रुकुम पूर्व छन्। सुनसरी २ र ३ मध्ये एउटा निर्वाचन क्षेत्रमा जगदीश कुसियत उठाउने भए पनि उनको निर्वाचन क्षेत्र निर्धारण गरिएको छैन।
होल्ड गरिएका अधिकांश निर्वाचन क्षेत्र जेन-जी आन्दोलनपछि पार्टी नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा रहेका नेताहरूको हो। त्यस्तै, विगतको चुनावमा गठबन्धन गरेका क्षेत्रहरू पनि छन्। एमालेले झापा ३ मा २०७४ र २०७९ सालको निर्वाचनमा राप्रपासँग गठबन्धन गरेको थियो। दुवैपटक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेका थिए। त्यसैगरी, विगतमा गठबन्धन गर्दा अर्को दललाई दिइएको सर्लाही १, सर्लाही २, पर्सा १ र २, बाँके २ मा पनि उम्मेदवार छनोट गरिएको छैन।
गत निर्वाचनमा एमाले महासचिव शंकर पोखरेल लडेको चुनाव क्षेत्र दाङ-२ को उम्मेदवारी पनि होल्ड गरिएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पोखरेल तत्कालीन नेकपा (माओवादी केन्द्र)की रेखा शर्मासँग पराजित भएका थिए। त्योसँग जोडिएको दाङ-१ मा पनि उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार रहेको रुकुम पूर्वमा पनि एमालेले उम्मेदवार घोषणा गरेको छैन।
होल्ड गरिएका निर्वाचन क्षेत्रको उम्मेदवार राजनीतिक परामर्श र तल्लो तहका कमिटीहरूसँग परामर्श गरेर टुंगो लगाउने एमालेले जनाएको छ। “राजनीतिक परामर्श र तल्लो तहका कमिटीहरूसँग परामर्शका लागि कतिपय क्षेत्रमा होल्ड गरिएको हो,” प्रचार विभाग प्रमुख शाही भन्छन्।