काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाएको छ। सोमबार दिउँसो बसेको संसदीय बोर्डले हिमाली जिल्लाको उम्मेदवारी टुंग्याएको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले बताए।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन बोर्ड बसेको थियो। “हिमाली जिल्लाको उम्मेदवारी टुंगो लागेको छ, अब तराई र पहाडी जिल्लाको उम्मेदवारी टुंगो लगाइने छ,” उनले भने।
कांग्रेस सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच त्रिपक्षीय वार्तापछि कांग्रेसको उम्मेदवारी टुंगो लाग्ने क्रममा छ।
निर्वाचन आयोगमा मंगलबार बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ। यसभन्दा अगाडि नै उम्मेदवार टुंगो लगाउनुपर्ने भए पनि पार्टीभित्र विकसित घटनाक्रम, छलफल र वार्ताका कारण कांग्रेसमा निकै विलम्ब भइरहेको छ।