काठमाडौँ
००:००:००
५ माघ २०८२, सोमबार

५ माघ २०८२
विजयकुमार गच्छदार‚ विमलेन्द्र निधि र प्रकाशशरण महत (बायाँबाट क्रमश:)। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याउन संसदीय बोर्डको बैठक जारी राखेका छन्।

थापा नेतृत्वको संसदीय बोर्ड सोमबार रातिसम्म बसिरहेको छ। बोर्डले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याएको बताइएको छ।

जसअनुसार सुनसरी क्षेत्र नम्बर ३ मा देउवा समूहका विजयकुमार गच्छदारको उम्मेदवारी पक्का भएको छ। गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकी भगवती चौधरीसँग पराजित भएका थिए। एमालेले सुनसरी ३ मा भगवतीलाई नै टिकट दिइसकेको छ।

विभाजित कांग्रेसमा चुनावी एकता‚ उम्मेदवार टुंग्याउँदै थापा-देउवा र कोइराला

गच्छदारलाई सोही क्षेत्रमा थापाले उम्मेदवारी पक्का गरेका हुन्। “विजयदाइको उम्मेदवारी पक्का भयो‚ भोलि बिहान नै हामी सुनसरी जाँदै छौँ‚” गच्छदारका स्वकीय सचिव यज्ञ चौधरीले भने।

धनुषा क्षेत्र नम्बर ३ मा नेता विमलेन्द्र निधिको टुंगो लागेको छ। निधिले भने औपचारिक जानकारी नपाएको बताए। सभापति थापाले प्रकाशशरण महतलाई नुवाकोट १‚ एनपी साउदलाई कञ्चनपुर २‚ ज्ञानेन्द्रबहादुर कार्कीलाई सुनसरी ४ र विक्रम खनाललाई नवलपरासी १ मा कांग्रेसले टिकट दिएको बुझिएको छ।

कांग्रेसले कैलालीको पाँचवटै क्षेत्रको उम्मेदवार टुंग्याएको छ। कैलाली १ मा जनकराज चौधरी‚ विजय स्वाँर २‚ भीम बडुवाल ३‚ वीरबहादुर बलायर ४ र कैलाली ५ मा नरनारायण शाहले टिकट पाएको बताइएको छ।

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाको उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले उम्मेदवार छनोटका लागि संसदीय बोर्ड बसिरहेको र केही ठाउँमा उम्मेदवारको टुंगो लागिसकेको बताए। बोर्डले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छैन।

बोर्डले हिमाली जिल्लाका केही क्षेत्रमा उम्मेदवार चयन गरेको छ। तथापि उम्मेदवारको सूची सार्वजनिक गरेको छैन। संसदीय बोर्ड पहाड‚ मधेस तथा उपत्यकाको उम्मेदवारी टुंग्याउन लागिरहेको चालिसेले बताए।