काठमाडौँ
००:००:००
८ माघ २०८२, बिहीबार

८ माघ २०८२
अ+
अ-

पर्सा। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात रू १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ।

गत आवको छ महिनाको अवधिमा भने रू ३१ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए।

चालु आवको छ महिनामा रू २५ अर्ब ४२ करोड मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ। रू तीन अर्ब ४८ करोड मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ।

त्यस्तै रू दुई अर्ब २५ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भएको छ। त्यस्तै रू एक अर्ब ७८ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ।