सर्लाही। अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका जानकारी दिए । उनका अनुसार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरप्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई रोकेर शोधपुछ गरेको थियो ।
सोही क्रममा मण्डल र मोफिज सवार मोटरसाइकलमा सिट आकार बनाएर ल्याइएको अवैध गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार निज दुवैले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिट तल लुकाएर ल्याएका थिए ।
प्रहरीले पक्राउ परेको मोटरसाइकल, चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । दुवै जनाविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताए ।