काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट ३ हजार ४०६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये ३ हजार १७ जना पुरुष र ३८८ जना महिला उम्मेदवार छन्।
उमेर समूहका आधारमा हेर्दा २५ देखि ४० वर्ष उमेर समूहका १ हजार ५६ जना, ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ९२५ जना, र ६१ वर्षभन्दा माथिका ४२५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिए। आयोगका अनुसार उम्मेदवारी दर्तादेखि फिर्ता प्रक्रियासम्मको सम्पूर्ण निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा अघि बढिरहेको छ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरूको नामावली प्रकाशित भइसकेको छ। आयोगले माघ १० गतेसम्म दाबी–विरोधको समय तोकेको छ। राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पुस १३ र १४ गते पेस गरेका थिए।
दाबी–विरोधको प्रक्रिया समाप्त भएपछि अन्तिम नामावली माघ १० गतेपछि प्रकाशित गरिने आयोगले जनाएको छ।