काठमाडौँ
००:००:००
२२ माघ २०८२, बिहीबार

९ माघ २०८२
अ+
अ-

काठमाडौँ। आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व, यस दिन विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ।

सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। सोही विश्वासका साथ आज बिहानै देखि स्वयम्भु स्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ।