मौसम

१० माघ २०८२
हिमपातले सेताम्मे बनेको डोल्पा। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आज दिनभरै कायम रह्यो।

वर्षा भने आज (शनिबार) अपराह्नबाट रोकिएको छ। विभागका सूचना अधिकारी दीनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए। यद्यपि छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए।

विभागका अनुसार पछिल्ला चौबीस घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८.८ मिलिमिटर वर्षा भएको छ। यो मध्यम वर्षा हो। यस्तै दार्चुलामा १७.८‚ बैतडीमा २६‚ डोटीमा २०‚ बझाङमा १६.२‚ कञ्चनपुरमा ९.४‚ अछाममा १२.६‚ कालीकोटमा १९.४‚ दैलेखमा १४.३‚ जुम्लामा १२.७‚ मुगुमा १२‚ डोल्पामा १३.५ मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ।

विभागका अनुसार बागलुङ‚ म्याग्दी‚ रुकुमपूर्व‚ रोल्पा‚ दाङ‚ बाँके‚ बर्दिया‚ सुर्खेत‚ गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ।

हिउँले सेताम्मे बन्यो डोल्पाको काइगाउँ‚ जनजीवन प्रभावित

आज (शनिबार) साँझ सार्वजनिक गरिएको बुलेटिनमा हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले कोसी‚ मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणत: बादल लागिरहेको छ।

आज राति देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणत: बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

यस्तै भोलि (आइतबार) देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणत: बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोसी‚ गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ। पूर्वी तथा मध्य तराई भू-भागका थोरै स्थानमा बिहानीपख हुस्सु रहने जनाइएको छ।