१० माघ २०८२
उज्यालो नेपालको अध्यक्ष बनेपछि २६ पुस २०८२ मा कुलमान घिसिङको पत्रकार सम्मेलन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा सहभागी भएको विषय र त्यसपछि राजनीतिमा प्रवेश गरेको निर्णयलाई लिएर उठेका प्रश्नहरूमाथि स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै घिसिङले आन्दोलनपछिको संवेदनशील अवस्थामा बनेको गैरदलीय सरकारमा आफू बाध्यतावश सहभागी भएको बताएका छन्। उनले तत्कालीन प्रधानमन्त्री सुशीला कार्की तथा आन्दोलनका नेतृत्वकर्ताहरूको आग्रहलाई अस्वीकार गर्न नसकेको उल्लेख गरेका छन्।

घिसिङका अनुसार मन्त्री पद स्वीकार गर्ने क्रममा नै भविष्यमा सक्रिय राजनीतिमा जाने सम्भावना रहेको कुरा प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो। त्यस अवस्थामा पदमा रहिरहन उपयुक्त नहुने भएकाले आवश्यक परेमा राजीनामा दिने सहमतिसहित मात्र जिम्मेवारी सम्हालेको उनको भनाइ छ।

राज्य संयन्त्र लगभग ठप्प भएको परिस्थितिमा चुनौती स्वीकार गरेर काम गरेको दाबी गर्दै घिसिङले राजनीतिक बहस सुरु भएपछि आफूले स्वतः पद त्यागेको स्मरण गराएका छन्। आफू पदको लोभमा नभई जिम्मेवारी बोधका साथ काम गर्ने व्यक्ति भएको उनले जिकिर गरेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हाल्दाका ११५ दिनका कामले आफ्नो प्रतिबद्धता प्रमाणित हुने उनको दाबी छ।

आफूविरुद्ध योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै घिसिङले यस्ता प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। उज्यालो नेपाल निर्माणको लक्ष्यसहित राजनीतिमा निरन्तर सक्रिय रहने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।