१० माघ २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले आफूसँग जोडिएका प्रश्नहरूको उत्तर दिने प्रयास गरेको छ। यसका लागि आयोगले ‘कल सेन्टर’ पनि सञ्चालनमा ल्याएको छ।

आयोगले सञ्चालनमा ल्याएको कल सेन्टरमा प्राप्त भएका प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ सँग सम्बन्धित प्रतिनिधि जिज्ञासाहरूको सरल उत्तर दिने प्रयास गरेको छ। आयोगका अनुसार प्राप्त जिज्ञासाहरूमध्ये २६ वटा प्रश्नको सरल उत्तर प्रस्तुत गरेको छ।

हेर्नुहोस् सबैका लागि उपयोगी हुने प्रतिनिधिमूलक जिज्ञासा र त्यसका सरल उत्तर :

१. मतदाता परिचयपत्रमा बुवाको नाम फरक परेको थियो। सच्याउनको लागि निवेदन दिइसकेको थिएँ तर हालसम्म नसच्चिएको हुँदा के गर्नेहोला?
उत्तर- यहाँले निर्धारित समयमा नै आवेदन गर्नुभएको भएमा सच्चिन पर्ने हो। सच्यिएको छ छैन भन्ने थाहा पाउन www.election.gov.np लगईन गरी आफ्नो मतदाता नामवली हेर्नुहोला। नभएमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नुहोला।

२. मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुन सक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ?
उत्तर- सम्बन्धित स्थानीय तहमा मृत्यूदर्ता गराएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ। मृत्यू भएका तर मृत्यू दर्ता नभइसकेका व्यक्तिहरुको मतदाता नामावलीबाट नहटेको हुन सक्छ। मतदान केन्द्रमा फोटो सहितको रङ्गिन मतदाता नामावली पठाइएको हुन्छ। त्यहाँ खटिएका उम्मेदवारका प्रतिनिधि र कर्मचारीले उक्त मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटो सहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी एकीन गरेर मात्र मतदान गर्न अनुमति दिने हुँदा यस्तो दुरुपयोग हुने सम्भावना देखिदैन।

३. अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ कि पाइँदैन?
उत्तर- मतदाता नामावलीमा आफ्नो नाम रहेको स्थानीय तहको सम्बन्धित वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइन्छ। अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइदैन्।

४. फौजदारी अभियोग लागेर कैद भुक्तान गरेका व्यक्तिले समेत उम्मेदवारी दिएको पाइयो। यसमा आयोगले के गर्छ?
उत्तर- यस विषयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यथाशीघ्र उजुरी/गुनासो गर्नुहोला। निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्छ र कानून अनुसार अयोग्य रहेको देखिएमा निजको उम्मेदवारी खारेज हुन्छ।

५. मतदाता परिचय पत्र नभएमा मत हाल्न पाइन्छ कि पाइदैन? प्यान कार्डले भोट हाल्न पाइन्छ कि पाइँदैन?
उत्तर- मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिर्वाय छ। मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ। तर कुनै मतदातासंग मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने गरी विगतमा निर्वाचनमा आयोगबाट निर्णय भएको थियो। आगामी निर्वाचनमा यस सम्बन्धी आयोगको निर्णयका लागि आयोगको वेभ साइट www.election.gov.np वा आधिकारिक सामाजिक संजाल फेसबुक पेज: Election commission Nepal वा टिकटक पेज: ECN Official हेर्दै गर्नुहोला।

६. मतदाता नामावली ट्रान्सफर (Transfer) गर्न के गर्नुपर्छ?
उत्तर- मतदाता नामावली एक स्थानबाट अर्को स्थानमा सार्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक अनलाईन वा प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्दछ। प्रतिनिधिसभा निर्वाचन, २०८२ को लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने र स्थानान्तरण गर्ने Cutoff date तोकिइसकेकोले हाल यो सेवा बन्द छ। निर्वाचन सम्पन्न भइसकेपछि मात्र सेवा लिनुहोला।

७. निर्वाचनको दिन सार्वजनिक विदा हुन्छ?
उत्तर – यस विषयमा निर्णय भइसकेको छैन। निर्वाचन आयोगका आधिकारिक सूचना हेर्दै गर्नहोला।

८. अहिले नयाँ दल दर्ता गर्न पाइन्छ कि पाइँदैन?
उत्तर- अहिले नयाँ दल दर्ता गर्न पाइन्छ तर अहिले दर्ता भएको दलले आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ मा भाग लिन भने पाइँदैन। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय पूरा भइसक्यो।

९. मरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइएको छ कि छैन?
उत्तर- तोकिएको मितिसम्म मृत्यु भएका (स्थानीय तहमा मृत्यूदर्ता गराएका) व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ।

१०. अस्थायी मतदाता को-को हुन्?
उत्तर- व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र कानुन बमोजिम दर्ता भएका वृद्धाश्रमा बसेका व्यक्तिहरु अस्थायी मतदाताका रूपमा रहेका छन।

११. संस्थाको नियमित साधारणसभा गर्न आचारसंहिताले रोक्छ कि रोक्दैन?
उत्तर- गैरराजनीतिक संस्थाले आफ्नो नियमित साधारण सभा गर्न मिल्छ तर यसले निर्वाचन आचारसंहिता विपरितका काम हुने आशंका भएमा स्थानीय प्रशासन र जिल्ला आचारसंहिता अनुमगन समितिले रोक लगाउन सक्छ। त्यसले साधारणसभालाई निर्वाचनभन्दा पछाडि सार्न वा गर्नै पर्ने भएमा अनुमतिका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी वहाँहरुले बताए अनुसार मात्र गर्नुहोला।

१२. मतदाता नामावली कहाँबाट र कसरी पाइन्छ?
उत्तर- तो किएको शुल्क तिरेर जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीको प्रतिलिपि प्राप्त गर्न सकिन्छ।

१३. पहिले नै तय भएको उपभोक्ता समितिको चुनाव गर्न पाइन्छ कि पाइँदैन?
उत्तर- आचार संहिता लागु भएको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नभए सम्म उपभोक्ता समितिको चुनाव गर्न पाइँदैन। प्रतिनिधि सभाको निर्वाचन सकिएपछि मात्र उपभोक्ता समितिको चुनाव गर्नुहोला।

१४. मतदानको दिन कति प्रतिशत मत खसेमा आयोगले चुनावलाई आधिकारिकताको मान्यता प्रदान गर्दछ?
उत्तर – सकेसम्म अधिकतम मतदान हुन सकोस् भन्ने र सबै मतदाता मतदानमा सहभागी हुन भन्ने आयोगको चाहना छ। मौजुदा निर्वाचन कानूनले खस्नुपर्ने मतको न्यूनतम सीमा निर्धारण नगरेकोले जति प्रतिशत मत खसे पनि मतदान वैध हुने र मतगणनाको प्रक्रिया अगाडि बढ्ने गर्दछ।

१५. मतपत्रमा ब्रेललिपिको व्यवस्था गरिएको छ कि छैन?
उत्तर – मतपत्रमा हाललाई ब्रेल लिपिको व्यवस्था गर्न गरिएको छैन। दृष्ट्रि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले आफ्नो एकाघरको आफूले विश्वास गर्ने व्कयक्तिलाई साथमा लियर मतदान गर्न जान अनुरोध छ।

१६. मतदाता परिचयपत्र बनाउन के गर्नुपर्छ?
उत्तर- मतदाता नामावलीमा नाम दर्ता भएका र विगतमा मतदाता परिचयपत्र नपाएका व्यक्तिको लागि आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउँछ। सम्बन्धित मतदान केन्द्रबाट प्राप्त गर्न सकिन्छ। यदि तपाईको मतदाता परिचय पत्र हराएको वा नष्ट भएको छ भने नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जा मध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने गरी विगतमा निर्वाचनमा आयोगबाट निर्णय भएको थियो। आगामी निर्वाचनमा यस सम्बन्धी आयोगको निर्णयका लागि आयोगको वेभ साइट www.election.gov.np वा आधिकारिक सामाजिक संजाल फेसबुक पेज: Election commission Nepal वा टिकटक पेज: ECN Official हेर्दै गर्नुहोला।

१७. आचारसंहिता लागु भएपछि मेला महोत्सव आयोजना गर्न पाइन्छ कि पाइँदैन?
उत्तर – निर्वाचनका गतिविधिहरुलाई बाधा अवरोध नपुर्याउने गरी आफ्नो स्थानीय परम्परा अनुसारका जात्रा, मेला सञ्चालन गर्न पाइन्छ तर निर्वाचन प्रचार प्रसार, मतदान लगायत निर्वाचनका कार्यक्रममा बाधा पुर्याउने र दलीय प्रभाव पार्ने खालका मेला महोत्सव आयोजना गर्न पाइदैन।

१८. अस्पत्तालको आकस्मिक तथा अत्यावश्यक सेवामा करार सेवाको लागि विज्ञापन सूचना प्रकाशन भइसकेको अवस्थामा कर्मचारी छनोट गरी नियुक्ति दिन मिल्छ कि मिल्दैन?
उत्तर- अस्पत्ताल अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था भए तापनि निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा करार सेवामा कर्मचारी छनोट एवम् नियुक्ति गर्न मिल्दैन। कुनै महामारी भएको वा काबु बाहिरको परिस्थिति उत्पन्न भएको अवस्थामा आफ्नो तालुक निकायमार्फत् निर्वाचन आयोगमा सहमतिको लागि पेश गर्न सकिन्छ। आयोगले औचित्य मूल्याङ्कन गरी सहमति प्रदान गर्न सक्छ।

१९. विद्यालयमा करार कर्मचारी नियुक्तिको लागि २०८२ साल पौष २५ गते परीक्षा भइसकेको छ? नियुक्ति दिन मिल्छ कि मिल्दैन?
उत्तर- आयोगलाई जानकारी गराई लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग, न्याय सेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न पाइन्छ त्यस बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न पाइदैन्।

२०. मैले राष्ट्रिय परिचयपत्र बनाउँदा मतदाता नामावली अद्यावधिक गरेको थिएँ। त्यो अद्ययावधिक भए/नभएको कसरी थाह पाउने होला?
उत्तर – निर्वाचन आयोगको वेभ साइट www.election.gov.np मा गएर मतदाता नामावली भन्ने विकल्पमा क्लिक गरी त्यहाँ आवश्यक व्यक्तिगत विवरण भरेर अद्यावधिक भए/नभएको हेर्न सकिन्छ।

२१. मतदाता परिचयपत्रमा पति-पत्निको नाम फरक परेको छ। संशोधन गर्न मिल्छ कि मिल्दैन?
उत्तर – मिल्छ तर हाल निर्वाचन घोषणा भइसकेको हुँदा हाल यो सेवा बन्द छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएपश्चात् मात्र यो सेवा सुचारु हुन्छ। यसका लागि तपाईंले दुवैजनाको नागरिकताको प्रमाणपत्र र विहे दर्ताको प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेश गर्नुपर्दछ।

२२. मतदाता नामावली स्थानान्तरण गर्न मिल्छ कि मिल्दैन?
उत्तर- हाल निर्वाचन घोषणा भइसकेको हुँदा यो कार्य तत्काल गर्न नसकिए तापनि निर्वाचन सम्पन्न भइसकेपछि बसाइसराईको प्रमाणपत्र वा विवाह दर्ताको प्रमाणपत्र सहित जिल्ला निर्वाचन कार्यालय वा तोकिएका अन्य स्थानमा नाम दर्ता अधिकारी समक्ष अनलाइन माध्यमबाट आवेदन पेश गर्नुपर्दछ।

२३. मतदाता परिचयपत्र छ तर मतदाता नामावलीमा नाम छैन। मत दिन पाइन्छ कि पाइँदैन?
उत्तर- मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरुलाई मात्र मतदाता परिचयपत्र उपलब्ध गराइने भएकोले मतदाता परिचयप पत्र भएको तर र मतदाता नामावलीमा नाम भएको नहुनुपर्ने हो, यदि यस्तो समस्या छ भने निर्वाचन आयोगको वेब साइटमा लगइन गरेर आफ्नो नाम भए नभएको थप एकिन गर्ने काम गर्नुहोला। त्यसो गर्दा समेत फेला नपरेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा यथाशीघ्र सम्पर्क गरी यकिन गर्नुहोला। मतदानका लागि आयोगबाट प्रकाशित मतदाता नामावली नै मतदान गर्न दिने आधार भएको हुँदा उक्त नामावलीमा नाम समावेश नभएमा मतदान गर्न पाइदैन।

२५. निर्वाचनको दिन सवारी साधन चल्छ कि चल्दैन?
उत्तर- मतदानको दिन अनुमति प्राप्त गरेका बाहेक अन्य सवारी साधन चल्दैनन्। यस विषयमा आयोगले केहि थप निर्णय गरेमा पछि जानकारी पाउनुहुनेछ।

२५. लोकसेवा आयोगको परीक्षा सर्छ कि सर्दैन?
उत्तर- निर्वाचन आचार संहिताले लोक सेवा आयोगले लिने परीक्षा संचालनमा रोक नलगाएको हुँदा वार्षिक कार्यतालिका अनुसार नियमित रुपमा संचालन हुने लोक सेवा आयोगका परीक्षाहरु निर्वाचनका कारणले सर्दैनन्। कर्मचारी निर्वाचनमा खटिनु पर्ने, सवारी साधन नचल्ने र परीक्षार्थीलाई कठिनाई हुने हुँदा मतदानको दिन र सो आसपासका परीक्षाहरु भने सञ्चालन नहुन सक्छन्। यस विषयमा सम्बन्धित लोक सेवा आयोगका सूचनाहरु समेत हेर्नुहोला।

२६. म्यादी प्रहरीमा भर्ना भएको व्यक्तिले मतदानको लागि बिदामा जान मिल्छ कि मिल्दैन?
उत्तर- यसपटक देखि म्यादी प्रहरीलाई निर्वाचन प्रहरी नामाकरण गरिएको छ। निर्वाचन सुरक्षाको विशिष्ट जिम्मेवारी निर्वाह गर्न निर्वाचन प्रहरीको व्यवस्था गरिएको हो। सामान्यत: निर्वाचन प्रहरीले मतदानको दिन मतदान केन्द्र र आसपासका क्षेत्रमा सुरक्षा प्रदान गर्नुपर्ने भएकाले उक्त दिन मतदानका लागि आफ्नो मतदान केन्द्रमा जानका लागि बिदा उपलब्ध हुँदैन।