काठमाडौँ
००:००:००
३१ जेष्ठ २०८३, आईतवार

१० माघ २०८२
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुन थालेको प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले समर्थन गरेको छ।

पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूले पनि समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गराएका थिए।

उनेपाका प्रवक्ता राजु थापाले एक वक्तव्य जारी गर्दै पुनलाई समर्थन गरेको जनाएका छन्। रोचक प्रचारशैलीका कारण पनि सामाजिक सञ्जालमा पुनको चर्चा छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८‚ नाङ्गीमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

“आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका पूर्वशिक्षामन्त्री महावीर पुनप्रति उज्यालो नेपाल पार्टीको समर्थन रहने निर्णय गरिएको छ‚” प्रवक्ता थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ “उज्यालो नेपाल पार्टीप्रति सद्भाव र समर्थन राख्नुहुने सम्पूर्ण मतदाता‚ शुभेच्छुक तथा समर्थकहरूलाई म्याग्दी जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत आफ्नो अमूल्य मत महावीर पुनलाई प्रदान गर्न हामी हार्दिक अनुरोध गर्दछौँ।”