काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेल सम्मिलित संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने कार्यसूची तय गरिएको हो।
यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ माग गरेको थियो। सो जवाफ प्राप्त भएपछि अदालतले सुनुवाइको मिति निर्धारण गरेको हो।
यसअघि माघ ८ गते न्यायाधीश शर्मा र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको थियो। तर पेसी न्यायाधीश ढकालले हेर्न नमिल्ने भएपछि स्थगित भएको थियो।
युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मी लगायतले माघ ४ गते छुट्टाछुट्टै रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोडिएकाविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।