काठमाडौँ। नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका सहित देशभरको मौसम बदली भएको छ।
आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।
शनिबार देशको पश्चिमी क्षेत्रको विभिन्न जिल्लाहरूमा हिमपात समेत भएको थियो। यो वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरु खुसी हुनुका साथै दैनिक जीवन भने प्रभावित भएको छ।
काठमाडौं उपत्यकाको हावाको गुणस्तर खराब हुँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरुले सल्लाह दिएका छन्।
स्विस वायु प्रदूषण मापन एप आइक्यु एअरले काठमाडौँको वायुको गुणस्तर अति अस्वस्थकर भनेको छ।